काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) अजरबैजानको बाकुमा भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ ।
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसहित वन सचिव डा दीपककुमार खरालसहित अन्य उच्च कर्मचारी र विज्ञसहितको नेपाली टोली सम्मेलनस्थल पुगिसकेको छ ।
यही नोभेम्बर ११ देखि २२ तारिखसम्म हुन गइरहेको कोप–२९ सम्मेलनस्थल बाकु स्टेडियम पुगी नेपाली प्रतिनिधिमण्डलले नेपालको प्रभावकारी उपस्थितिका लागि आवश्यक तयारी गरेको मन्त्रालयले जनाएको छ ।
नेपालले यसपटक राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा सम्मेलनमा सहभागिता जनाउँदैछ । सम्मेलनमा नेपालको विशेष तयारीका लागि मन्त्री शाही आइतबार सम्मेलनस्थल पुगी जानकारी लिएका थिए ।
नेपालको उपस्थितिलाई प्रभावकारी बनाउने उद्देश्यले मन्त्री शाहीले नेपालले प्रस्तुत गर्ने विभिन्न उच्चस्तरीय सम्बोधन, द्विपक्षीय छलफल, वार्ता र प्रस्तुतीकरणको तयारीबारे जानकारी लिनुभएको मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव डा सिन्धुप्रसाद ढुङ्गानाले जानकारी दिए । “यसअघि सम्पन्न अनौपचारिक बैठकमा भएका विषयवस्तु, सम्मेलन अवधिभर नेपालले उठाउने मुद्दाहरू, जिम्मेवारी बाँडफाँड र सहभागीहरूले पालना गर्नुपर्ने आचारसंहितालगायत विषयमा विस्तृत छलफल भएको थियो”, उनले भने । नेपालले जलवायु परिवर्तनका विषयमा सामना गरिरहेका चुनौती तथा हालसम्म गरेका प्रतिबद्धता र त्यसको कार्यान्वयनका लागि गरेका प्रयासलाई विश्व मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गर्नमा जोड दिने बताइएको छ ।
सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल यही कात्तिक ३० गते शुक्रबार बिहान स्वदेश फर्कने कार्यतालिका छ । नेपालले सम्मेलनमा मुख्यतया जलवायु अनुकूलन, हानि–नोक्सानी, जलवायु वित्त, पर्वतीय क्षेत्रका मुद्दा, प्रविधि विकास हस्तान्तरण, क्षमता विकासलगायत विषय प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।
गत वर्ष संयुक्त अरब इमिरेट्सको दुबईमा सम्पन्न कोप–२८ मा पनि नेपालले हिमालका मुद्दाबारे विश्वको ध्यानाकर्षण गराउन प्रधानमन्त्रीको नेतृत्वमा सम्मेलन कक्षमै उच्चस्तरीय बैठकको आयोजना गरेको थियो । सम्मेलन राष्ट्रको उच्चस्तरीय प्रतिनिधित्व र त्यहाँ हुने बैठक आफ्ना मुद्दाबारे ध्यानाकर्षण गराउन प्रभावकारी हुने तथा यसले निर्णय क्षमता र कार्यान्वयनमा पनि ठूलो महत्व राख्ने यस क्षेत्रका विज्ञहरूको भनाइ छ ।
यसअघि नेपालले सन् २००९ मा डेनमार्कको कोपनहेगनमा भएको कोप–१५ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, सन् २०१८ मा पोल्यान्डमा भएको कोप–२४ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, सन् २०२१ मा संयुक्त अधिराज्यको स्कटल्यान्डमा सम्पन्न कोप–२७ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र सन् २०२३ मा संयुक्त अरब इमिरेट्सको दुबईमा सम्पन्न कोप–२८ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा उच्चस्तरीय सहभागिता जनाएको थियो ।