बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

चीन भ्रमणमा जाँदै प्रधानमन्त्री ओली

अघिल्लो भ्रमणमा भएका सम्झौता कार्यान्वयनमा जाने अपेक्षा

सोमबार, कार्तिक १२ २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जाने भएका छन् ।

प्रधानमन्त्री बनेको तीन महिनापछि ओलीले उत्तरी छिमेकी राष्ट्र चीन भ्रमण गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले आउँदो मंसिर पहिलो साताभित्र चीन भ्रमणको तयारी थालेका छन् ।

प्रधानमन्त्री ओलीको भ्रणका लागि परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको छ । सरकारको नेतृत्व गरेको सय दिन पूरा भएपछि प्रधानमन्त्री ओली पहिलो भ्रमणका रूपमा छिमेकी चीन जाने तयारीमा जुटेका हुन् ।

२०७५ सालमा तत्कालीन प्रधानमन्त्रीका रूपमा ओलीले चीन भ्रमण गर्दा निकै उपलब्धि भएको मानिएको थियो। २०७५ असारमा ओलीले प्रधानमन्त्रीका रूपमा भ्रमण गर्दा केरुङ काठमाडौं रेल्वेसम्बन्धी परियोजनामा सहमति भएको थियो।

यसैगरी बेल्ट एन्ड रोड परियोजनामा गरिएको समझदारीपत्रको कार्यान्वयन गर्ने , कनेक्टिभिटीका मुख्य तत्वहरु सम्बोधन गर्दैै बन्दरगाह, रोड, रेल्वे, उड्डयन र सूचनालाई ट्रान्स हिमालय बहुआयामिक कनेक्टिभिटी नेटवर्कअन्तर्गत व्यापक बनाउने, व्यावहारिक मापदण्डअनुसार समझदारीपत्रमा रहेका सबै क्षेत्रको प्रवर्धन गर्ने, नेपालको पूर्वाधार निर्माण र अन्य उत्पादनमूलक क्षेत्रमा अझै धेरै चिनियाँ लगानी प्राप्त गर्न नेपालका कानुन र नीतिहरूलाई सजिलो बनाउने, निवेदन, जग्गा, करसम्बन्धी र भिसा सजिलो बनाई लगानी अनुकूल वातावरण सिर्जना गर्ने र चिनियाँ कम्पनीहरूका लागि व्यापारको वातावरण बनाउनेजस्ता धेरै वटा विषय उल्लेख गरिएको समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

प्रधानमन्त्री ओलीको चीन भ्रमण भए अघिल्लो भ्रमणमा उल्लेख गरिएका विषयहरू कार्यान्वयनमा जाने अपेक्षा नेपाली पक्षले गर्ने जनाइएको छ।