काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका–९ गैरून माथान टोलस्थित जंग बहादुर राईको कुखुराको फर्ममा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका–९ बस्ने ३७ वर्षीय राजु कार्की समेत ९ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख १४ हजार ५ सय ७५ रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो।
मोरङको सुनवर्षी नगरपालिका–९ भेडवाथान बस्ने कहरसिंह राजवंशीको घरमा जुवातास खेलिरहेको अवस्थामा कहरसिंह समेत ४ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८२ हजार रूपैयाँ, ४ बुक तास र ४ थान मोबाइल सहित पक्राउ गरेको हो।
सिराहाको सिरहा नगरपालिका–७ स्थित थापा होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–७ बस्ने ४१ वर्षीय पाण्डव मुखिया समेत ८ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय सिराहा र जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७९ हजार २ सय ६५ रूपैयाँ, ७ बुक तास, ६ थान मोबाइल र ५ थान मोटरसाइकल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।