बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

स्वर्णिमको आरोप: गगनले राजनीति जोगाउन रविलाई पक्राउ गर्न लगाए

शनिबार, कार्तिक ३ २०८१

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले संगठित अपराधमा सहभागीहरू अहिलेको मन्त्रिपरिषदमा रहेको आरोप लगाएका छन् । आज (शनिबार) पोखरामा आयोजित विरोध कार्यक्रममा बोल्दै उनले नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई बेच्ने संगठित अपराधीहरू अहिलेको मन्त्रिपरिषदमा रहेको भन्दै उनीहरूबाट ध्यान मोड्न पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरिएको बताए ।

उनले अहिले कुशासनको अभ्यास भइरहेको समेत टिप्पणी गरेका छन् । उनले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै कसैलाई आफ्नो राजनीति जोगाउन रविलाई पक्राउ गर्न लगाएको आरोप लगाए । महामन्त्री थापाले सहकारी छानबिन विशेष समिति बन्नु पूर्व लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको बताएका थिए ।

संसदीय छानबिन विशेष समितिले पनि गोर्खा मिडिया नेटवर्क प्रालिमा विभिन्न सहकारीमार्फत रकम ल्याइ हिनामिना गरेको निष्कर्ष निकालेको थियो । सहकारीको ८७ अर्ब भ्याउन, सहकारी डिभोर्स लुकाउन, गिरिबन्धु र शरणार्थीको फाइल लुकाउनलाई रवि लामिछानेलाई पक्राउ गरिएको आरोप लगाए । विरोध कार्यक्रममा बोल्दै रास्वपा सांसद डा. तोषिमा कार्कीले सहकारी छानबिन प्रकरणमा रवि लामिछानेमाथि कुनै प्रमाण फेला नपरे पनि पक्राउ गरिएको भन्दै आपत्ति जनाइन् । उनले छानबिनका लागि आफूहरू तयार भएको बताइन । उनले सम्पूर्ण सहकारी पीडितहरूको रकम फिर्ता गर्ने हिम्मत छ भन्दै प्रश्न समेत गरिन् ।

रास्वपा सभापति एवं पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई शुक्रवार पार्टी केन्द्रीय कार्यालयबाट प्रहरीले पक्राउ गरेको थियो । सभापति पक्राउ पछि रास्वपाका नेता–कार्यकर्ताहरूले पक्राउ गरेकोमा आपत्ति जनाउँदै विरोध प्रदर्शन गरिरहेका छन् । सभापति लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान हुनेछ । लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ ।