काठमाडौं । आजदेखि मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पथान्तरण गरिँदै छ। मेलम्चीका सङ्घर्ष समिति र खानेपानीमन्त्री प्रदीप यादवबीच सोमवार भएको वार्तामा काठमाडौंमा मेलम्चीको पानी पठाउने सहमति भएको हो ।
मन्त्री यादवले हेलम्बु गाउँपालिकाको मेलम्ची गएर सङ्घर्ष समिति एवं त्यहाँका सरोकारपक्षसँग वार्ता गरेका थिए। दसैँ अगाडि काठमाडौँवासीलाई मेलम्चीको पानी उपलब्ध गराउने प्रतिबद्धता जनाएका मन्त्री यादवसहितको टोली वार्ताका लागि सोमवार मेलम्ची पुगेको थियो ।
मन्त्री यादवसहितको टोली र मेलम्चीका सङ्घर्ष समितिबीच पानी काठमाडौंमा लैजाने विषयमा भएको वार्तामा सङ्घर्ष समितिले राखेका जायज मागहरूलाई सम्बोधन गरिने सहमति भएपछि आजदेखि मेलम्चीको पानी काठमाडौं आउने भएको हो ।
मेलम्ची क्षेत्र पुगेर स्थानीय जनप्रतिनिधि र सङ्घर्ष समितिका पदाधिकारीसँग छलफल गरेर मेलम्ची नदीको पानी काठमाडौँ उपत्यकामा पथान्तरण गर्न सहमति गरेको मन्त्री यादवले बताए ।
सहमतिसँगै मनसुनका कारण बन्द रहेको मेलम्ची नदीको पानी काठमाडौँ उपत्यकामा पथान्तरण गर्ने प्रक्रिया मंगलबारदेखि सुरु हुनेछ ।
उनले भनेका छन्, ‘छलफलका क्रममा हेलम्बु गाउँपालिकाका जनप्रतिनिधिहरूले देखाउनु भएको सकारात्मक सहयोग र सहकार्यप्रति आभार व्यक्त गर्न चाहन्छु । स्थानीय विकास र बाढीपीडितहरूको समस्याको समाधान गर्दै काठमाडौँ उपत्यकावासीलाई बाह्रै महिना स्वच्छ र सफा पानी उपलब्ध गराउने प्रतिबद्धतामा म दृढ छु ।’