झापा । दुर्गा प्रसाईं नेतृत्वको उच्छृङ्खल समूहले असोज ७ गते बिहान ३ बजेतिर प्रहार गरेको पेट्रोलबमबाट गम्भीर घाइते भएका भारतीय नागरिक पाेदाे रायको शिलगुडीमा उपचारका क्रममा आइतबार मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घाईते रायको उपचारको क्रममा भारत दार्जलिङ जिल्ला स्थित शिलगुडीकाे नर्थ बंगाल मेडिकल कलेजमा मृत्यु भएको हो ।
भारत इस्लामपुरका ४० वर्षीय राय प्रसाईं समूहले झापा बिर्तामोड नगरपालिका ६ को बुट्टाबारीमा आगजनी गरेको WB73E3056 नम्बरको भारतीय मालबाहक ट्रकका चालक हुन् ।
असोज ७ गते सो समूहले प्रहार गरेको पेट्रोलबमले लागेर रायको शरीरको ६० प्रतिशत भाग जलेको थियो। स्थिति गम्भीर भएपछि घटना भएकै दिन थप उपचारका लागि रायलाई भारत लगिएको थियो ।
झापाको काँकडभिट्टा तर्फ जाँदै गरेको सो खाली ट्रकमा प्रसाईं समूहका व्यक्तिले रोकेर पेट्रोलबम प्रहार गरेको थियो। पेट्रोलबम प्रहार हुनसाथ राय भाग्न खोजेका थिए । उनलाई जलिरहेको ट्रकमा पुनः हालेर सो समूह फरार भएको थियो । तत्काल इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रनाउ प्रकाश बिष्टको कमाण्डमा टोली खटिइ दमकल र प्रहरीको सहयोगमा उक्त आगो निभाएको थियो ।
मृतक रायका आफन्तले आइतबार साँझ एसियन हाइवेको काँकडभिट्टा नाका नजिक भारतको पानीटंकीतर्फ शव राखेर प्रदर्शन गरेका थिए। उनीहरूले आधाघण्टासम्म नाकामा अवरोध गरेका झापा प्रहरीले जनाएको छ।
पछि नेपाल र भारतीय प्रहरीको समन्वयमा रायको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आगजनी गर्ने दुर्गा प्रसाईँका ८ जना समर्थकलाई प्रहरीले त्यतिबेलै पक्राउ गरेको थियो। उनीहरूमाथि आपराधिक उपद्रो तथा ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। प्रसाइ भने जिल्ला अदालत काठमाडौंमा १ लाख धरौटी तिरेर गत साता थुनामुक्त भइसकेका छन् ।