बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

दागबत्ती दिएपछि दाइले भाइलाई अँगालो हाले अनि, एकले अर्कालाई हेरेर टाेलाइरहे

शनिबार, असोज १९ २०८१

कैलाली । अछाम ढकारी गाउँपालिका ६ कि ३० वर्षीया सरितादेवी जैसीको समयमा उपचार नपाउँदा बिहीबार मृत्यु भएको थियो ।

सुत्केरी बेथा लागेपछि स्वास्थ्य चौकी ढुङ्गाचाल्नामा लैजाने क्रममा उनले बाटोमा नै बच्चा जन्माइन् । त्यसलगत्तै उनलाई स्वास्थ्य चौकी ढुङ्गाचाल्ना पुर्‍याएको थियो तर, स्वास्थ्य कार्यालयमा आवश्यक उपकरण र दक्ष जनशक्ति नभएको भन्दै उनलाई थप उपचारको लागि जिल्ला अस्पताल मङ्गलसेन लैजान भनिएको थियो ।

सुत्केरी भएको करिब ७ घण्टासम्म पनि उपचार नपाउँदा जिल्ला अस्पतालमा उनले मृत्यु वरण गर्न बाध्य हुनु पर्याे ।

उनका दुई छाेरा थिए । चितामा सरिताको शव जल्दै गर्दा ७ वर्षका लक्ष्मण, ९ वर्षका युवराज डाँको छोडेर रोए । उनीहरुकाे त्याे रुवाइले गएका मलामी कसैकाे पनि आँखा ओभानो रहेन ।

दुबै छाेराले आमाको चितामा दागबत्ती दिए। अनि, थचक्क बसे। एकले अर्कोको मलिन अनुहार हेरे। दाइले भाइलाई अँगालो हाले। अनि, दाजुभाइले आँसु झारे। त्यसपछि, चुपचाप टोलाइरहे । सानै भएपनि आमा फेरि नआउने बाटोमा गएको उनीहरुलाई थाहा थियो ।

दाजुभाइको त्यो अबोध पना र प्रेम देखेर मलामीका आँखा रसाए र सन्नटा छायो।

अछामकी सरितादेवीलाई सुत्केरी व्यथा लागेपछि स्ट्रेचरमा बोकेर ढुंगाचाल्ना स्वास्थ्यचौकी लगिएको थियो। एकदेखि डेढ घण्टाको बाटो थियो। स्वास्थ्यचौकी नपुग्दै उनले राति बाटोमै बच्चा जन्माइन्। साल आएन र धेरै नै रक्तस्राव भइरह्यो अनि ज्यान गयो। चार छोराछोरी टुहुरा भए ।

सुत्केरी भएको करिब ७ घण्टासम्म पनि उपचार नपाउँदा जिल्ला अस्पतालमा उनको मृत्यु भयो । ढिलोगरि अस्पताल पुर्‍याएकाले सुत्केरीको बाटोमै मृत्यु भएको जिल्ला अस्पतालले जनाएको थियो ।

आमाको मृत्यु भएपछि सहारा विहीन भएका बालकहरूको विचल्ली भएको छ ।

तस्वीर : सामाजिक संजालबाट ।