बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

विष खुवाएर दुई नाबालिग छोरीको हत्या गरेकी महिला जेल चलान

शुक्रबार, असोज १८ २०८१

काठमाडौं । दुई छोरीलाई विष खुवाएर हत्या गरेकी महिला पुर्पक्षका लागि कारागार चलान भएकी छिन् ।

विष खुवाएर नाबालिका दुई छोरीको हत्या आरोपमा पक्राउ परेकी अस्मिता पौडेल (कार्की) बिहीवार पुर्पक्षका लागि कारागार चलान भएकी हुन् ।

मोरङ जिल्ला अदालतका न्यायाधीश पारसमणि पोखरेलको इजलासले मंगलवार अस्मितालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

उनलाई प्रहरीले विर्तामोड नगरपालिका(५ पूर्वपश्चिम राजमार्गनजिक एभरेष्ट बैंकअगाडिबाट पक्राउ गरेको थियो ।

पौडेल भदौ १५ गते अपराह्न साढे ४ बजेपछि फरार भएकी थिइन्। सोही दिन सुन्दरहरैंचा-७ को केरा बगानमा उनका दुई जना छोरी मृत अवस्थामा फेला परेका थिए।

एक वर्षीया आइङ्का र तीन वर्षकी छोरी अर्पनालाई विष सेवनपछि मृत अवस्थामा प्रहरीले फेला पारेको थियो।

पौडेलले १४ गते राति नै दुई छोरीलाई विष सेवन गराएर हत्या गरेको खुलेको छ। श्रीमानसँग निर्माणाधीन घरमा पानी लगाउने विषयमा वादविवाद भएपछि उनी छोरी लिएर घरबाट निस्केकी थिइन्।

उनीहरू श्रीमान् -श्रीमतीबीच पटक-पटक घरायसी कुरामा विवाद हुने गरेको थियो । सोही झोकमा उनले छोरीलाई विष खुवाएर हत्या गरेकी थिइन् । पतिले दिएको ‘टर्चर’ सहन नसकेपछि छोरीहरूलाई पनि मार्ने र आफू पनि मर्ने योजना बनाएर घरबाट हिँडेको उनले प्रहरीलाई बयान दिएकी छिन् ।