बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

राप्रपामा जिम्मेवारी हेरफेर, महामन्त्री डा.राणा संगठन विभाग प्रमुखबाट हटाइए

शुक्रबार, असोज १८ २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम केही विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर र केही विभागका प्रमुखहरूको मनोनयन गरेका छन् ।

महामन्त्री डा. धवलशम्शेर राणालाई संगठन विभाग प्रमुखबाट हटाइएको छ ।

राणाले पार्टीभित्र ‘संस्थापनविराेधि धार’ को नेतृत्व गर्दै आएका छन् । उनी राप्रपाको भावी अध्यक्षका एक आकांक्षी पनि हुन् ।

पछिल्लो समय विभिन्न सवालहरुलाई लिएर पार्टी अध्यक्ष लिङ्देनसित उनको मतान्तर बढिरहेको छ । राणाकै सक्रियतामा ‘संस्थापनविरोधी गुट’ का बैठकहरु हुने गरेका छन् । संगठन विभाग प्रमुखले नै अध्यक्षलाई काउन्टर दिने खालका समानान्तर गतिविधि बढाएपछि सो जिम्मेवारीबाट मुक्त गरिएको राप्रपा स्रोतले बतायो ।

सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बिहीबार एक विज्ञप्ति जारी गर्नु भई पार्टी केन्द्रीय अध्यक्ष लिङ्देनले पार्टीको विधानबमोजिम केही विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर र केही विभागका प्रमुखहरूको मनोनयन गरेको जानकारी दिए ।

उनका अनुसार सङ्गठन विभागको प्रमुखमा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ, स्थानीय तह परिचालन विभागको प्रमुखमा वरिष्ठ नेता एवं उपाध्यक्ष ध्रुवबहादुर प्रधान, राजनीतिक विभागको प्रमुखमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र रहेका छन् ।

यसैगरी पर्यटन विभागको प्रमुखमा सहायक महामन्त्री विजय खड्का, विपद् व्यवस्थापन विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्धव थापा, सूचना प्रविधि विभाग (आइटी) को प्रमुखमा केन्द्रीय सदस्य उद्धवराज भेटुवाल र लेखा समितिको प्रमुखमा केन्द्रीय सदस्य केदार न्यौपाने रहेका छन् ।