काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अवरुद्ध बिपी राजमार्ग दशैँअघि नखुल्ने बताएको छ। बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध बिपी राजमार्ग दशैँअगाडि सञ्चालनमा नआउने जानकारी दिएका हुन्।
उनले मन्त्रालयको टोलीले स्थलगत अवलोकनसमेत गरेर आएको भन्दै दशैँअगाडि बिपी राजमार्ग खुल्ने सम्भावना नरहेको उल्लेख गरे। यद्यपि, खुलाउने प्रयास भने जारी राखिने उनको भनाइ छ।
खुलेको अवस्थामा पनि फसेका यातायातका साधनको उद्धार मात्र गरिने र अन्य सवारी साधनलाई चलाउन सकिने गरी खुलाउन नसकिने उनले स्पष्ट पारे।
उनले भने, ‘विपी राजमार्गको अवस्था देख्दाखेरी दशैँअगाडि त्यो खुल्ने सम्भावना छैन। हामी त्यो निष्कर्षमा पुग्यौँ। काम निरन्तर गर्छौ किनभने त्यहाँ गाडीहरु रहेका छन्। गाडीका स्टाफहरु गाडी कुरेर बस्नुभएको छ भनेपछि सकेसम्म हामी प्रयास गर्दै दशैँ अगाडि अड्किएका गाडीहरु ल्याउने प्रयास गर्छौँ। त्यो उद्धार मात्रै हुन्छ। सार्वजनिक गाडी छोड्ने गरी नै गर्न सकिने अवस्था हामी देख्दैनौँ। धेरै ठाउँमा बिग्रिएको छ।’
असोज ११ र १२ गतेको भारी वर्षाका कारण देशभरमा ३४ वटा राजमार्गहरुका ८०५ स्थानमा पहिरो गई सडक अवरुद्ध भएको जानकारी दिइएको छ। त्यसमध्ये ७७४ स्थानको पहिरो हटाई २९ वटा राजमार्गमा विभागीय तथा भाडाका यन्त्र उपकरण र जनशक्ति प्रयोग गरी यातायात सुचारु गरिसकिएको सचिव शर्माले जानकारी दिए।
हाल ५ वटा मुख्य राजमार्गका ३१ स्थानमा अवरुद्ध भएको यातायात सञ्चालन गर्ने प्रयास जारी राखिएको उनले बताए। हालसम्मको प्रारम्भिक अनुमानअनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्र साढे २ देखि ३ अर्ब लाग्ने देखिएको उनले जानकारी दिए।
त्यस्तै, क्षति भएका सम्पूर्ण संरचना स्थायी रुपमा पुनःस्थापना गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको उनको भनाइ छ।