बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

थुनामुक्त भएपछि प्रसाईंले भने : मेराे लडाइँ प्रधानमन्त्रीसँग हाे, अब म प्रधानमन्त्री बन्ने हो

बुधबार, असोज १६ २०८१

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रु एक लाख धरौटीमा थुनामुक्त भएका छन् ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश ठाकुरप्रसाद खरेलको एकल इजलासले मंगलबार विद्युतीय अपराधसम्बन्धी दुई वटा मुद्दामा जनही रु ५०र५० हजार धरौटी लिएर थुनामुक्त गर्ने आदेश गरेको थियो ।

रिहा भएपछि प्रसाईले आफु शरीरमा एक थोपा रगत हुन्जेल आम जनताको लडाई लड्ने बताएका छन् ।

अदालतले छोडेलगत्तै कार्यकर्ताहरुले प्रसाईंलाई स्वागत अभिनन्दन गरेका थिए । प्रसाईंले पनि पुरानै शैलीमा भाषण गर्दै कार्यकर्तालाई उकासे । आफूलाई सिध्याउन महिला अघि सारिएको, तर अदालतले आमाको भूमिका निर्वाह गरेको उनको टिप्पणी छ ।

प्रसाईंले भने, ‘एकजना केटीलाई मुख छाड्यो, गालीगलौज गर्‍यो भनेर मलाई लगियो, जबकि मैले कसैको नाम लिएको थिइनँ । मलाई लगेपछि सोधियो- केपी ओलीलाई किन यस्तो भनेको ? प्रचण्डलाई किन यस्तो भनेको ? शेरबहादुरलाई किन यस्तो भनेको छ ? सबै जवाफ दिइसकेपछि सम्मानित अदालतले तारेखमा छोडेर आमाको भूमिका निभाएको छ ।’

‘मेरो बोली नै हतियार हो । यो बोली सर्वहाराको हो । दुर्गा प्रसाईंको आवाज मर्‍यो भने तपाईंहरुको बोलिदिने कोही हुँदैन । एक थोपो रगत हुञ्जेलसम्म दुर्गा प्रसाईं बिक्दैन, झुक्दैन र हार्दैन ।’

आफ्नो लडाइँ अहिलेका प्रधानमन्त्रीसँग रहेको उनले बताए ।

‘एमाले त दुर्गा प्रसाईंसित मंसिर ७ मा हारिसक्यो । देशको प्रधानमन्त्री अहिले दुर्गा प्रसाईंसित लड्दैछ । प्रधानमन्त्रीले पनि हार्‍यो भने दुर्गा प्रसाईं नै प्रधानमन्त्री हो । मैले आजसम्म राजनीति गरेको थिइनँ, तर आजदेखि राजनीति पनि सुरु गरें । तपाईंहरुका लागि एक हजार पल्ट झुण्डिन तयार छु । तपाईंहरुको लागि एक हजार पल्ट मर्न तयार छु ।’

मेडिकल व्यवसायी प्रसाईंलाई सरकारी वकिल कार्यालय काठमाडौँले विद्युतीय अपराधसम्बन्धी दुई वटा मुद्दा काठमाडौँ अदालतमा दायर गरेको थियो ।

प्रसाईंले एक जना महिलाको चरित्र हत्या हुने अभिव्यक्ति उल्लेख गर्दै मुद्दा दायर गरिएको थियो । नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई यही असोज ६ मा भक्तपुरस्थित घरबाट पक्राउ गरेको थियो ।