काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी–पहिरोपछि राहत र उद्धारमा सरकार नचुकेको बताएका छन् । अमेरिकाबाट स्वदेश फर्किएपछि पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले विरोधका लागि विरोध गरिएको बताए ।
उनले बाढी पहिरो रोकेर रोक्न नसकिने पनि बताएका छन् ।
‘विरोधका लागि विरोध होला । सरकारले गर्नेसम्मको प्रयास गरेको छ, तत्काल बैठक बसेर, सेना प्रहरी खटेर उद्धार गरेको छ,’ उनले भने, ‘बाढी आउने कुरालाई त रोक्न सकिँदैन, पूर्व सूचना गरेर पहिरो जाँदैन, गएपछि क्षति हुने भयो । त्यसमा सरकारले तदारुकता साथ काम गरेको छ ।’
उनले विपदको संवेदनशील बेलामा विरोध गरेर परिस्थिति झन बिगार्न खोजिएको भन्दै असन्तोष व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले भने, ‘संवेदनशील बेलामा विरोधका लागि विरोध नगरौं । सरकार छ । यसले परिस्थिति सम्हाल्छ । गरिरहेको पनि छ ।’ ओलीले सञ्चारकर्मीसँग बोले लगत्तै जारी प्रेस वक्तव्यमा विपद्का मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ । उनले घाइतेको स्वास्थ्यलाभ कामना गरेका छन् ।