बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

विपद्को बेला हातेमालो गरेर उद्धारमा सहयोग गरौं : प्रधानमन्त्री

आइतबार, असोज १३ २०८१

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश फर्किने तयारीमा रहेको बताएका छन् ।

असोज ४ गते अमेरिका प्रस्थान गरेका उनी १४ गते स्वदेश फर्किने पूर्वतालिका थियो ।

उनले विपदको बेला हातेमालो गरेर उद्धारमा सहयोग गर्न पनि अपिल समेत गरेका छन् । प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, ‘संयुक्त राष्ट्रसंघको महासभामा लगायतका कार्यक्रम सकेर स्वदेश फर्किने तयारीमा छु ।’

अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्रीले विपद्को उद्धारका लागि सुरक्षा निकायलाई सम्पर्क गर्ने नम्बरहरू सार्वजनिक गरिएको भन्दै समस्या परे सम्पर्क गर्न आग्रह गरेका छन्।

‘बाढी पहिरोबाट उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी साथीहरु कार्य क्षेत्रमा खटिरहनु भएको छ। विपद्को उद्धारका लागि सुरक्षा निकायलाई सम्पर्क गर्ने नम्बरहरू सार्वजनिक गरिएको छ। तोकिएको नम्बरमा सुरक्षाकर्मीलाई सम्पर्क गरौं र उहाँहरुलाई सबैले सहयोग गरौं। बाढी पहिरोको प्रभावमा परेको ठाउँको सूचना तत्काल सुरक्षाकर्मीसम्म पुर्याउन मद्दत गरौं।’ उनले लेखेका छन् ।

अविरल वर्षासँगै शुक्रबार र शनिबारको बाढी, पहिरो र डुबानले १०० जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामै ४८ जनाको मृत्यु भएको छ । विपदको बेला केही स्थानमा उद्धारका काम प्रभावकारी नभएको भन्दै सरकारको आलोचना गर्दै आएका छन् ।