बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

उद्धारको पर्खाइमा सिन्धुली दुम्जा गुरुकुलका तीन जना शिक्षकसहित ३३ जना

शनिबार, असोज १२ २०८१

सिन्धुली । सुनकोशी गाउँपालिका–१ स्थित आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरुकुलका ३३ जना नदी बिचमा अलपत्र परेका छन् । गुरुकुलका २६ जना बटुक, ३ जना शिक्षक, २ जना कर्मचारी र २ जना मन्दिरका पुजारी शुक्रबार रातिदेखि बाढीमा फसेका हुन् ।

सुनकोशी नदीको सतह बढेर मन्दिरसम्म आइपुगेको र रोशी खोलाले मन्दिरको दुवैतिरबाट च्यापेकाले कतै भाग्ने अवस्था नरहेको गुरुकुलका शिक्षक नारायण घिमिरेले बताए ।

बिहिबारदेखि परेको अविरल वर्षाका कारण मन्दिरको चारैतिर सुनकोसी र रोशीको बाढीले च्यापेपछि सुरक्षित स्थानमा जान नसकिएको गुरुकुलका शिक्षक नारायण घिमिरेले गुनासो गरे । उनले भने, अहिले हामी गुरुकुलको भवनको माथिल्लो तलामा रहेका छौँ । बिजुली र इन्टरनेटको पहुँच छैन । उद्धारको लागि कतैबाट पहल भएको छैन । छिटो उद्धारको गरिदिनु भए हुने थियो ।’

विपद् व्यवस्थापनका सबै संयन्त्रमा खबर गरि उद्धारको प्रयास भए पनि अहिलेसम्म उद्धार गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्माले बताए । ‘हामी उहाँहरुको उद्धारका लागि प्रयास गरिरहेका छौं । गएराति पर्ख र हेर भन्ने बाहेक कुनै विकल्पले काम गरेन,’ उनले भने ।
यता जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्द काफ्लेकाअनुसार बाढीले मन्दिर परिसरमा अलपत्र परेका ३३ जनालाई उद्धारका लागि स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी शुक्रबारदेखि नै खटिएको बताए ।

जिल्लामा रोशी र सुनकोशी नदीले वितण्डा मच्चाएको छ । नदीमा आएको बाढीले सुनकोशी गाउँपालिका–५ मुल्कोट र गोलञ्जोर गाउँपालिका–७ खुर्कोट बजार डुबानमा परेका छन् । दुम्जाका पाँच घर बगाएको छ । दुम्जा र नेपालथोक बीचमा एकसय मिटर विपी राजमार्ग बाढीले बगाएपछि शुक्रबारदेखि नै आवतजावत बन्द भएको छ ।