काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पक्राउ गरिएको विरोधमा उनका समर्थकहरूले झापामा तीन वटा भारतीय नम्बर प्लेट भएको ट्रकमा आगजनी गरेका छन्।
प्रसाईँलाई प्रहरीले पक्राउ गरेसँगै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान अन्तर्गतका नागरिक प्रतिरक्षा बलले आइतबार नै विज्ञप्ति निकाल्दै आज झापा जिल्लाभर यातायात बन्दको घोषणा गरेका थिए।
सोही समूहले गएराति कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको बिरिङ खोलाको पुलमा र आज बिहान बिर्तामोड नगरपालिका ६ गिरीबन्धु टी इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा तीनवटा भारतीय मालवाहक ट्रकमा आगजनी गरेका हुन्।
बिर्तामोडबाट सुरुङ्गातर्फ प्लाइ बनाउन प्रयोग हुने कच्चा पदार्थ बोकेर जाँदै गरेको ट्रकलाई ६ /७ वटा मोटरसाइकलमा आएका युवाले रोकेर आगजनी गरी फरार भएका थिए। दमकलको सहयोगमा इलाका प्रहरी कार्यालय बिर्तामोड र सुरुङ्गाको टोलीले ट्रकमा लागेको आगो नियन्त्रणमा लिएको थियो।
ट्रकमा भएको आगजनीबाट सोही ट्रकका चालक भारत सिलिगुडी बस्ने वर्ष ४० का कुमार महतो जलेर सामान्य घाइते भएका छन् । उनको दाहिने हातको पाखुरा जलेको प्रहरीले जनाएको छ । उनको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै गएराति साढे आठ बजे बिर्तामोडको पश्चिम बसस्टेण्डमा प्रसाईंका समर्थकको एक समूह टायर बालेर फरार भएको छ। आगजनीमा सम्लग्नको खोजी भइरहेको तर पक्राउ पर्न नसकेको झापा प्रहरीले जनाएको छ ।
प्रसाईं विभिन्न व्यक्तिको चरित्रहत्या गरेको आरोपमा पक्राउ परेका छन् ।
साइबर व्युरो र भक्तपुर प्रहरीको संयुक्त टोलीले प्रसाईंलाई आइतबार अपरान्ह भक्तपुर निवासबाटै पक्राउ गरेको थियो । रास्वपा केन्द्रीय सदस्य टीका संग्रौलालगायतले प्रसाईंविरुद्ध साइबर व्युरोमा जाहेरी दिएका थिए । साइबर अपराधको मुद्दामा उनीमाथि मुद्दा छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले बुधबार प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।