जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार भएका छन्।
आज बिहान करिब ३ बजेतिर हिरासत कक्षको भेन्टिलेसन फोडेर उनीहरु फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।
हिरासत कक्षमा रहेका ९ जना थुनुवा भेन्टिलेसन फोडेर निस्किएका थिए । जसमध्ये एकजनालाई प्रहरीले पक्राउ गरेको छ। फरार भएका सबै थुनुवाहरु लागू औषध र चोरी मुद्दाका अभियुक्त थिए। प्रहरीले उनीहरूको खोजी गरिरहेको छ ।
फरार हुनेमा लागुऔषध मुद्दाका रञ्जित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया र अमितकुमार छन्। यस्तै अभद्र व्यवहारमा पक्राउ परेका बिक्की कार्की, मनिष मण्डल र सुमित मेस्तर पनि फरार भएका छन्।
फरार भएका थुनुवाहरूको खोजीका लागि सम्भावित ठाउँमा बिहानैदेखि ‘सर्च’ अभियान चलाएको डीएसपी अवाले बताए ।