काठमाडौं । कास्कीको पोखरा महानगरपालिका –४, नालाको मुखमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी अभियोगमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्क प्रालिका संस्थापक छविलाल जोशीलाई आज अदालतमा उपस्थित गराइँदैछ ।
आइतबार दिउँसो काठमाडौंको शङ्खमुलबाट प्रहरीले नियन्त्रणमा लिएपछि थप अनुसन्धानका लागि जोशीलाई साँझ साढे ९ बजे हवाइजहाजमार्फत् पोखरा ल्याइएको हो ।
गोरखा मिडिया प्रालिले चलाएको ग्यालेक्सी फोरके टेलिजभिनमा गैरकानुनी रुपमा सहकारीको रकम लगानी भएको संसदीय छानबिन समितिको निष्कर्ष छ ।
जोशी विदेश जान लागेको गोप्य सूचना पाएपछि कास्की प्रहरीको अनुरोधमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको थियो । जोशीलाई सोमबार कास्की जिल्ला अदालतमा उपस्थित गराइने कास्की प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए ।
सूर्यदर्शनमा सेयर रकम, बचत, जगेडालगायतका कोषमा हुनुपर्ने रकम गैरकानुनी रुपमा अपचलन भएको छ । सहकारीको एक अर्ब ३५ करोड हिनामिना भएको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।
संसदीय छानबिन समितिले सहकारीको रकम दुरुपयोगमा सूर्यदर्शनका अध्यक्ष थानबहादुर बुढा, पूर्वअध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, जिबीका दाजु भूपेन्द्र राई, सदस्य कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्धक निर्देशक रवि लामिछाने लगायतलाई कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।
अभियुक्तमध्ये पाँच जना पुर्पक्षका लागि थुनामा छन् । १९ जनालाई विपक्षी बनाइएकोमा अझै १३ जना फरार छन् । २०८० साउन २२ गते १९ जनाविरुद्ध प्रहरीले जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको थियो ।
सहकारीको रकम ठगीका मुख्य अभियुक्त जिबी राई भने अहिले मलेसिया छन् ।