बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

९ वर्ष पछि मधेशमा पहिलो पटक संविधान दिवस मनाइयो

शुक्रबार, असोज ४ २०८१

काठमाडौं । नेपालमा ऐतिहासिक संविधानसभाबाट संविधान जारी भएको ९ वर्ष पुगेको छ । तर २०७२ सालमा संविधान जारी हुँदा नै मधेसले अहसहमति जनाएको थियो ।

यसैबीच ९ वर्ष पछि मधेशमा पनि संविधान दिवस मनाइएको छ । प्रदेशको दुई वटा निर्वाचन भइसक्दा पनि असन्तुष्ट रहेको मधेस सरकारले समेत संविधान दिवसलाई कहिल्यै पनि उत्सवका रुपमा मनाउन सकेन । तर यो पटक भने मधेस प्रदेश सरकारले नै औपचारिक रुपमा संविधान दिवस मनाएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्रालयले संविधान दिवसका अवसरमा बिहीबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए ।

कुनै बेला यहि संविधान र राष्ट्रप्रति नै असन्तुष्टि जनाउँदै राष्ट्र विखण्डनको एजेण्डा बोकेका सीके राउत नेतृत्वको जनमत पार्टी नेतृत्वको मधेस प्रदेश सरकारले औपचारिक रुपमा संविधान दिवस मनाएको हो ।

संविधानप्रति सबैभन्दा रुष्ट बनेको भनेकै मधेस हो । मधेसीमुलका एवम् नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादवले नै संविधानसभाबाट जारी गरेको संविधानप्रति मधेसवादी दलहरु नै सन्तुष्ट हुन सकेका थिएनन् ।

प्रदेश सरकार स्थापनाको ८ वर्षपछि मधेस सरकारले आयोजना गरेको कार्यक्रममा बोल्दै मधेसवादी नेताहरु संविधानमा भएको त्रुटीलाई संशोधनमार्फत सच्याउन सकिने भनी लचिलो रुपमा प्रस्तुत भएका छन् ।