बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

सहकारी ठगीमा रवि लामिछाने निर्दोष नदेखिएकाे समितिकाे ठहर

सोमबार, भाद्र ३१ २०८१

काठमाडाैं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित सहकारीको रकम ठगीमा संलग्नहरूलाई कारबाहीको सिफारिससहितको प्रतिवेदन तयार गरेको छ ।

समितिले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रतिवेदन बुझाउन लागेको हो । समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले तीन महिना १५ लिन लामो अनुसन्धानपछि तयार पारिएको प्रतिवेदन सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाउन लागेका हुन् ।

प्रतिवेदनमा सदस्यहरूले हस्ताक्षर गरेपछि आज (सोमबार) संसद्लाई बुझाउने तयारी छ । तयार पारिएको प्रतिवेदनमा हस्ताक्षर गर्न ७ सदस्यीय समितिको बैठक अहिले बिहान ११ बजे बस्दैछ।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने, सञ्चालक छविलाल जोशीसहितलाई दोषी ठहर गर्दै समितिले प्रतिवेदन बुझाउन लागेको हो ।

समितिको छानबिनमा लामिछाने दोषी देखिएको समितिका एक सदस्यले जानकारी दिए ।  विभिन्न सहकारीबाट गोरखा मिडिया नेटवर्कमा आएको रकम खर्च गर्दा लामिछानेकोसमेत हस्ताक्षर रहेको भेटिएको उनले बताए । समितिमा आएका सबै प्रमाणले लामिछाने निर्दोष नदेखिएको समितिको ठहर छ ।

लामिछाने प्रबन्ध निर्देशक रहेकै समयसम्म पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी र चितवनको सहारा सहकारीबाट ८१ करोड ३१ लाख रुपैयाँ गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा गएको देखिएको समितिको ठहर छ ।