प्रधानमन्त्रीले सम्बोधन गर्ने
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले आज आफ्नो प्रतिवेदन संसदमा पेश गर्ने भएको छ ।
समितका सभापति सुर्य थापाले आज बस्ने प्रतिनिधि सभाको बैठकमा समितको प्रतिवेदन पेश गर्नेछन् ।
एमाले सांसद सुर्य थापाको नेतृत्वमा जेठ १५ गते गठन भएको संसदीय छानबिन समितिले जेठ २२ गतेदेखि आफ्नो काम थालेको थियो । शुरुमा तीन महिनाको समय पाएको समितिको भदौ २२ गतेसम्म प्रतिवेदन तयार नभएपछि १५ दिन समय थपिएको थियो ।
समितले सहकारी सम्बद्ध सरोकारवाला, सरकारी निकाय, ठगि भएका भनिएका सहकारीका वर्तमान र पुर्व पदाधिकारी, सहकारी ठगीको आरोप लागेका विभिन्न व्यक्तिहरुसँग गरि ६३ वटा बैठक गरेको थियो । समितिले शनिबार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको थियो ।
समितिमा एमाले सांसद सूर्य थापा संयोजक रहेका थिए भने एमालेबाट सरिता भुसाल, नेपाली कांग्रेसबाट बद्री पाण्डे (दिलेन्द्र प्रसाद बडू) र ईश्वरीदेवी न्यौपाने, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान सदस्य रहेका ५न् ।
कांग्रेसका बद्री पाण्डे मन्त्री बनेपछि बडुले समितिको सदस्यको रुपमा काम गरिरहेका छन् ।
संसद चल्न दिन माओवादी सकारात्मक
प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने तयारी गरेका छन् ।
आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक चल्न दिन माओवादी केन्द्र सकारात्मक भएपछि प्रधानमन्त्री ओलीले सम्बोधनको तयारी गरेका हुन् ।
माओवादी केन्द्रका नेताहरु संसद बैठक चल्न दिन सकारात्मक भएपछि आज प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकलाई सम्बोधन गर्ने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आइतबारको बैठक माओवादी केन्द्रका सांसदहरुको विरोध कारण बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको थियो ।
प्रतिनिधि सभा बैठकमा नेकपा एमालेका सांसद योगेश भट्टराईले माओवादी सशस्त्र संघर्षलाई ‘हिंसा’ भनेपछि माओवादी सांसदहरुले त्यसमा विरोध जनाउँदै आएका छन् । विवादका कारण आइतबारको बैठक बस्न सकेको थिएन ।
त्यसपछि संसद अधिवेशन अन्त्यको प्रक्रिया अघि बढ्ने छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले संसदको वर्षे अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएपछि संसदको वर्षे अधिवेशन अन्त्य हुने छ ।