काठमाडौं । सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित एकैपटक ४० सहसचिवको सरुवा गरेको छ ।
मन्त्रिपरिषद् बैठकले प्रशासनसहित विभिन्न सेवाका प्राविधिक सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो । सरकारले काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरेको छ । उनको स्थानमा महानगरमा काठमाडौं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट सरोजप्रसाद गुरागाईंलाई ल्याइएको छ ।
गत माघमा काठमाडौं महानगरपालिकामा गएका उनी एक वर्ष पनि पूरा नहुँदै सरुवा भएका छन्।
यस्तै, यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशमा सरुवा गरिएको छ भने सूचना तथा प्रशारण विभागका महानिर्देशक बलराम रिजाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगिएको छ । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापालाई गृह मन्त्रालय लगिँदा त्यहाँ राष्ट्रिय दलित आयोगका शिवराज चौलागाईं पठाइएको छ ।
रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा ल्याइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई गृह मन्त्रालयमा पठाइएको छ ।
राष्ट्रिय दलित आयोगमा कार्यरत शिवराज चौलागाईंलाई पोखरा महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ । युवा तथा खेलकुद मन्त्रालयका विदुरप्रसाद खनाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती, केशवराज सुवेदीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशबाट बागमतीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लोकसेवा आयोगका सहसचिव तुल्सीनाथ गौतमलाई मुख्यमन्त्री तथा तथा मन्त्रिपरिषद्को कार्यालय बागमतीमै सरुवा गरिएको छ ।
पुरुषोत्तम शर्मा गण्डकीको आर्थिक मामिला मन्त्रालयबाट लोकसेवा आयोगमा आएका छन् । प्रदेश प्रमुखको कार्यालय गण्डकीका सेवन्तराज दाहाललाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र शम्भुप्रसाद मरासिनीलाई अर्थ मन्त्रालयबाट ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पठाइएको छ ।
तोयानारायण सुवेदी ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट उपराष्ट्रपतिको कार्यालयमा पुगेका छन् भने सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका वीरेन्द्रदेव भारतीलाई जितपुर सिमरा उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको छ ।
कमानसिंह खत्रीलाई कर्णालीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट राष्ट्रिय दलित आयोगमा ल्याइएको छ भने कृष्ण पौडेललाई लुम्बिनीको मुख्यमन्त्रीको कार्यालयबाट थारू आयोगमा सरुवा गरिएको छ । उमेशकुमार ढकाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गृह मन्त्रालयमा सरुवा हुनुभएको छ भने प्रकाश पौडेल गण्डकीको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका गोविन्दप्रसाद रिजालको सरुवा पनि गृहमा नै भएको छ ।
प्राविधिक सहसचिव कमलराज श्रेष्ठको सरुवा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सदूरपश्चिममा भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय सदूरपश्चिमका सहसचिव सुरतकुमार बमको सरुवा खानेपानी मन्त्रालयमा भएको छ ।
गण्डकीको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव गणेशराज वस्ती शहरी विकास मन्त्रालयमा आउनुभएको छ । शहरी विकास मन्त्रालयका कमलकुमार अधिकारीको सरुवा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीमा भएको छ ।
जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक राजन भट्टराई पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीमा पुगेका छन् ।
राजेन्द्रप्रसाद भण्डारीको सरुवा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको छ । भवन निर्माण विभागको पुल समूहबाट भीमार्जुन पाण्डेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनीमा सरुवा भएको छ ।
माधवप्रसाद भट्टराईको भौतिक पूर्वाधार विकास मन्त्रालय लुम्बिनीबाट शहरी विकास मन्त्रालयमा सरुवा भएको छ । खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय बागमतीका इन्द्रदेव भट्ट ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आएका छन् । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका मोहनकुमार शाक्य खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय बागमतीमा पुगेका छन् ।