काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन् ।
परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले साँझ ५ बजे बस्नेगरि परिषदको बैठक बोलाएका हुन् ।
बैठकमा नयाँ प्रधानन्यायाधीश सिफारिसबारे छलफल हुने बताइएको छ ।
परिषदका सदस्यहरूलाई पठाइएको पत्रमा प्रधानन्यायाधीश सिफारिसको एउटामात्रै एजेण्डा उल्लेख गरिएको छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले असोज १८ गतेदेखि अवकाश पाउँदैछन् ।
न्याय परिषद्ले यही भदौ २० गते नै ८ न्यायाधीशको नाम परिषद्मा पठाएको थियो। उक्त सूचीमाथि छलफल गर्न आज बैठक बोलाइएको हो।
न्यायपरिषद्ले सिफारिस गरेका ८ जना मध्येबाट एक जनालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गर्नुपर्ने हुन्छ।
जसमा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहेका छन् ।
संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।