आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट छ जना पक्राउ

मंगलबार, भाद्र २५ २०८१

काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ बाट अवैध लागूऔषध गाँजा करिब २ सय ४० किलोग्राम सहित चितवन राप्ती नगरपालिका–३ झुरझुरे बस्ने २६ वर्षीय विज्ञान तिमल्सिना समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना.४ ख २०६३ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकको क्याबिनसँग जोडिएको फल्स बटमभित्र रहेको उक्त परिमाणाको गाँजा फेला पारी चालक तिमल्सिना समेत दुई जनालाई पक्राउ गरेको हो।

बाँकेको बैजानाथ गाउँपालिका–७ बस्ने २४ वर्षीय सरोज कुमार चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बाँकेको नेपालगंज उपमहानगरपालिका–१४ चौलिका चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय मेराज शेषलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हिरमिनियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

दाङको लमही नगरपालिका–५ रातोडाँडास्थित ममता स्वर्गद्वारी गेस्ट हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम सहित भारत बलरापुर उत्तर प्रदेश घर भएका २४ वर्षीय दानिश अखतर खान र २२ वर्षीय मारकण्डेय मिश्रलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।