बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

कैदको सट्टा रकम तिरेर जेल नै नबसी रिहा भए सांसद केसी

मंगलबार, भाद्र २५ २०८१

काठमाडौं । आइतबार अदालतमा आत्मसमर्पण गरेका लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसी सोमबार रिहा भएका छन् । कानुन अनुसार कैदको सट्टामा रकम तिरेर उनी रिहा भएका हुन् ।

उनी सोमबार फौजदारी अपराधसंहिता २०७४ को दफा १५५ को सुविधा अनुसार १ वर्षसम्म कैद सजाय तोकिएका व्यक्तिले रकम जम्मा गरेमा जेल सजाय भोग्नु नपर्ने प्रावधान बमोजिम १ लाख ९ हजार २ सय रुपैयाँ तिरेर रिहा भएका हुन् ।

रुकुम पूर्वबाट निर्वाचित कांग्रेस सांसद केसी कागजात किर्ते मुद्दामा दोषी ठहर भएका थिए। कैद सजाय पूरा नगरेका उनी रुकुम पूर्व जिल्ला अदालतमा आइतबार उपस्थित भएका थिए ।

जिल्ला अदालतका निमित्त श्रेस्तेदार राधाकृष्ण रिजालका अनुसार न्यायाधीश लोकबहादुर हमालको इजलासले प्रदेश सभा सदस्य केसीलाई रकम लिएर रिहाइको आदेश दिएको हो । निवेदकले १ दिन बराबरको ३ सय रुपैयाँका दरले १ लाख ९ हजार २ सय रुपैयाँ बुझाएको रिजालले जानकारी दिए ।