बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

सर्वोच्च अदालतको निर्णयले जनतामात्रै होइन भगवान पनि पीडित हुन्छन् : प्रधानमन्त्री ओली

पशुपतिनाथ कहाँ लैजाने ? पशुपतिनाथ सार्ने हो भने गुह्वेश्वरी कहाँ लैजाने ?

सोमबार, भाद्र २४ २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको निर्णयले जनतामात्रै नभइ भगवान पनि पीडित हुने बताएका छन् ।
सोमवार उपत्यकाव्यापी सडक बिस्तार पीडित संघर्ष समिति तथा खोला मापदण्ड सरोकार समूहसँगको भेटका क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उपत्यकाका नदी किनारमा थप २० मिटर छोड्नुपर्ने सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्न नसकिने बताउँदै उनले धार्मिक मूल्य मान्यता, आस्थाका धरोहरहरुको संरक्षण र संवद्र्धन गर्न जरुरी रहेको बताए ।

उनले पशुपतिनाथ कहाँ लैजाने ? भन्दै प्रश्न गरे। पशुपतिनाथ सार्ने हो भने गुह्वेश्वरी कहाँ लैजाने ? उनले अंग पतन भएको ठाउँ सार्न नसकिने बताए । अस्तित्व मेटिने गरी सांस्कृतिक सम्पदाहरु सार्न नसकिने उनको भनाइ थियो ।

उनले सर्वोच्च अदालतको सो फैसलाबाट आफूलाई ठूलो देखाउन खोज्ने र जनताको वास्ता नगर्ने केही मानिसहरु मात्रै खुशी भएको बताए ।

प्रधानमन्त्री ओलीले सर्वोच्चको उक्त फैसलाले जनताको स्थायी बसोवास नै मासिने बताए । फेरि नयाँ बिस्तार गर्दा २०/२० मिटर छोड्दा चौथाई काठमाडौं सकिने उनको भनाइ थियो ।

सर्वोच्चको उक्त फैसला पर्याप्त अध्ययन बिना आएको उनको जिकिर थियो। सरकारले निर्णय उपयुक्त नभएको विचार गरी भ्याकेटमा जाने निर्णय लिएको पनि प्रधानमन्त्री ओलीले बताए। प्रधानमन्त्री ओलीले सर्वोच्च अदालले जनताका समस्या, जनताका पीरमर्कालाई बुझ्ने विश्वास व्यक्त गरे ।