बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

मितेरी सहकारी ठगी प्रकरणमा जोडिए कांग्रेस उपसभापति गुरुङ दम्पती, अनुसन्धानको माग गर्दै जाहेरी

सोमबार, भाद्र २४ २०८१

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा पूर्वकानूनमन्त्री धनराज गुरुङ सहकारी ठगी प्रकरणमा मुछिएका छन्।

उनीविरुद्ध सहकारी ठगीमा अनुसन्धान गर्न माग गर्दै सीआइबीमा उजुरी परेको हो ।

ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाकी तत्कालीन सञ्चालक ज्योति गुरुङ र उनका पति कांग्रेस नेता धनराजले संस्थाको बचत रकम अपचलन गरेको आरोपमा सोही सहकारीका अध्यक्ष कुम्भराज गुरुङले जाहेरी दर्ता गराएका छन् ।

ज्योति गुरुङ हाल फरार रहेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । धनराज गुरुङ निकट स्रोतकाअनुसार सहकारी ठगीमा परेपछि सहमतिमै दुवैजनाले सम्बन्ध विच्छेदको कागजसमेत बनाएका छन् ।

कांग्रेस उपसभापति तथा पूर्वमन्त्री धनराज र उनकी पत्नी ज्योति अहिले कानूनीरूपमा सम्बन्ध बिच्छेद गरेको अवस्था देखिए पनि सम्बन्ध बिच्छेदको २ वर्षपछि ज्योतिको नाममा ऋणसमेत धनराजले सहकारीमा पुगेर तिरेको देखिन्छ ।

ज्योति गुरुङ हाल फरार रहेको र नेपालमै नरहेको जानकारी प्राप्त भएको छ ।

स्याङ्जा जिल्ला अर्जुन चौपारी लामिडाँडा घर भएका कांग्रेस नेता गुरुङ र पत्नी ज्योतिमाथि करिब १५ करोड रूपैयाँ आर्थिक ठगी गरेको आरोपमा अनुसन्धानको माग गरिएको छ ।

सहकारी ठगी छानबिनका लागि गठित सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिमा पनि यो उजुरी परेको छ ।

मितेरी सहकारीले बागमती प्रदेश सहकारी विभागमा २०७७–७८ यताको कुनै पनि लेखा परीक्षण विवरण बुझाएको छैन । पछिल्लो विवरण अनुसार सहकारीले वार्षिक २५ करोडको कारोबार गरेको र १९ करोड बचत रहेको देखिएको छ ।

धनराज र ज्योति दुवैले १४ करोड ८१ लाख रुपैयाँ ज्योति भण्डारीलाई बैंकमा पठाएको खुल्न आएको छ । यससम्बन्धी यथार्थ विवरण संसदीय छानबिन समितिमा दिएको सहकारीका अध्यक्ष कुम्भराज गुरुङले जानकारी दिए ।