काठमाडौं । तिजको आगमनसँगै गायिका विष्णु माझीको ‘आइन आमा यो तिजैमा’ भन्ने गीत अहिले चर्चाको शिखरमा छ।
योसँगै फेरि एक पटक विष्णु माझीको चर्चा व्यापक छ, उनीबारेको खोजीनीति सुरु भइसकेको छ।
सालको पात टपरी हुनी, नहुनी सल्लैको
तिम्रो माया कति छ कति हे बरै नलाउ पछि हल्लैको’
भन्ने गीतले युट्युवमा इतिहास कायम गरेपछि एक पटक विष्णु माझीको खोजी भएको थियो। यो खोज यहाँसम्म पुग्यो कि माझी बुर्का लगाएर स्याङ्जा प्रहरीकहाँ उपस्थित हुनु परेको थियो।
मिस्ट्री क्वीन भनेर चिनिने विष्णु माझीको जीवन यति गोप्य रह्यो कि अनेक कोणबाट शंका गर्न थालियो। स्याङ्जाका तत्कालिन प्रमुख जिल्ला अधिकारीले नै उनलाई उपस्थित गराउनका लागि उर्दी जारी गर्न परेको थियो।
उनी जिल्ला प्रशासन कार्यालयमा उपस्थित भएकी पनि थिइन्। तर, त्यसयता पनि उनी सोही जीवन बाँचीरहेकी छन्। गोप्य र रहस्यको।
बागबजारको मूल बाटोबाट छुट्टिने कुनै गल्लीमा एउटा रेकर्डिङ स्टुडियो छ। बिहान ११ बजेतिरको समय, ब्यस्त ठाउँ अनि चहल–पहल पनि उत्तिकै छ। त्यही भीडभाडका बीच एउटा रेकर्डिङ स्टुडियो सुनसानजस्तै छ। स्टुडियोका सञ्चालक त्यहाँ छिर्न खोज्ने एकाध मानिसलाई भन्दैछन्, ‘स्टुडियो एक बजेपछि मात्र खुल्छ, त्यतिबेलै आउनुस् है १ अहिले काम गर्न सकिँदैन ।’
यस्तै, वातावरणबीच होचो कद, कालो मास्क लगाएकी र पछ्यौरीले शिर छोपेकी एक महिला सरासर स्टुडियो पस्छिन्। तुरुन्तै भित्रबाट ढोकाको चुकुल लाग्छ। मध्याह्नको सवा ११ बजेको समय, त्यसको २० मिनेटपछि ती युवती उही शैलीमा स्टुडियोबाट बाहिरिन्छिन् अनि नजिकै रहेको ट्याक्सीमा फुत्त छिर्छिन् र उक्त ट्याक्सी आफ्नो बाटो लाग्छ। यसरी भित्र छिर्ने र केही समयमै त्यसैगरी बाहिरिने महिला अरू कोही थिइनन्, उनी मिस्ट्री क्विन अर्थात् लोकप्रिय गायिका विष्णु माझी रहेकी थिइन्।
सार्वजनिक स्थानमा अनुहार नदेखाउने, कसैसँग परिचय नगर्ने र झन्डै भूमिगत रूपमा काम गर्ने यही शैलीले नेपाली संगीत बजारमा उनलाई मिस्ट्री क्विन बनाएको छ। सामाजिक सञ्जाल, युट्युब तथा इन्टरनेटमा अहिलेसम्म उनको एउटै मात्र तस्बिर फेला पर्छ। यद्यपि उनले त्यही घुम्टोभित्रबाटै स्वरको जादु चलाइरहेकी छिन्। उनी लाखौं श्रोताको ढुकढुकीसँग जोडिएकी छिन्, युट्युबमा उनले गाएका गीतले करोडौं भ्युज बटुलेका छन्।
गुपचुप जीवनका बीच घन्किने मधुर स्वरको जादुले लोकगीतको दुनियाँमा उनी सुपरस्टारका रूपमा स्थापित छिन्।
फ्यानसित भेट्दीनन् अन्तरवार्ता दिन्नन्
विष्णु माझीले गुमनाम रूपमा गीत गाउन थालेको एक दशकभन्दा बढी भैसकेको छ। अन्य कलाकारजस्तो प्रशंसकहरूसँग नजिकबाट साक्षात्कार गर्ने, उनीहरूका कुरा सुन्ने, उनीहरूसँग भेटघाट गर्ने, तस्बिर खिच्ने काम यी गायिकाबाट हुँदैन। गोप्य रूपमा अन्य कुनै नामबाट चलाएको भए थाहा भएन, तर आधिकारिक रूपमा उनको न फेसबुक छ न अन्य कुनै सामाजिक सञ्जाल। विष्णु माझीसँग कुनै काम परे उनका श्रीमान् सुन्दरमणि अधिकारीसँग सम्पर्क गर्नुपर्छ।
पछिल्लो तिज गीतको भिडिओमा भने सुन्दरमणि देखिएका छन्।
सीधै विष्णु माझीसँग कसैले सम्पर्क गर्न सक्दैनन्। विष्णु माझी एक मात्र त्यस्ती गायिका हुन्, जो प्रशंसकहरूसँग कुनै सम्बन्ध–सम्पर्क राख्दिनन्, मिडियासँग बोल्दिनन्। प्रशंसकहरूले उनलाई भेट्ने धोको अहिलेसम्म पूरा हुन सकेको छैन। नेपालका दर्जनौं मिडियाले प्रयास गरे पनि विष्णु माझीले अहिलेसम्म कुनै पनि मिडियालाई अन्तर्वार्ता दिएकी छैनन्।
गायिका माझीको स्वभाव अचम्मको छ। उनी अरू गायक–गायिकाले जस्तो रेकर्डिङ स्टुडियो पसेर सिसा अगाडि गीत रेकर्ड गराउँदिनन्। उनी स्टुडियो पस्छिन्, पछ्यौराले सिसा छोप्न सम्भव भए सिसा छोपेर गीत गाउँछिन्। त्यो असम्भव भयो भने माइक अलिकति कुनामा लगेर गीत रेकर्ड गराउँछिन्।
गीत रेकर्ड हुनासाथ सुटुक्क घर लाग्छिन्। गीत रेकर्ड गराएपछि उनीसँग उक्त गीतसँग सम्बन्धित कुनै पनि व्यक्तिले तस्बिर खिच्ने अथवा बोल्ने अवसर पाउँदैनन्। किनभने उनी काम सक्ने बित्तिकै आफ्नो बाटो तताइहाल्छिन्।
विष्णु माझी स्याङ्जाको चापाकोटस्थित काली नदीको किनार खोरियाघाटमा जन्मिएकी हुन्। गायक भगवान भण्डारी, बद्री पंगेनी, एकनारायण भण्डारी, रूपक डोटेल, रामजी खाँड पनि स्याङ्जाकै हुन्। गायिका माझीको भूमिगत जस्तो जीवनका सम्बन्धमा विभिन्न टीकाटिप्पणी हुने गरेका छन् । श्रीमान् सुन्दरमणिसमेत विष्णु माझीका विषयमा केही बोल्न मान्दैनन्। उनलाई विष्णु माझीका विषयमा बुझ्न गरेको सम्पर्क कैयन् पटक असफल भयो। एक दशकअघि बुटवलमा सम्पन्न महोत्सवमा विष्णुको जादुयी स्वर सुनेर विष्णुमणि अधिकारीले गायिका बनाउँछु भन्दै उनलाई रात्रिबस चढाएर काठमाडौं ल्याएका थिए। त्यसपछि गायिका माझीको लोकप्रियता निरन्तर चुलिँदै गयो। उनको निकै माग भयो, तर सुन्दरमणिले चढाएको विष्णुको जिन्दगीको रात्रीबस कहाँ पुग्दैछ कसैलाई थाहा छैन। अहिले उनीहरू काठमाडौंमै बस्छन् तर कहाँ रु कसैलाई थाहा छैन।
विष्णु माझी निकट रहेका केहि संगीतकर्मीहरू भने उनीहरू नयाँबजारमा बस्दै आएको बताउँछन्।
विष्णु माझीसँग सम्बन्धित अर्को रहस्यमय कुरा हो, उनले अहिलेसम्म स्टेज कार्यक्रममा भाग लिएकी छैनन्। माझीलाई लाखौं रुपैयाँ दिएर कन्सर्ट तथा विदेशका कार्यक्रममा सहभागी गराउन खोज्ने धेरै आयोजकको प्रयास असफल भएको हुन्छ।
विष्णु माझीसम्म पुग्ने एउटा मात्र बाटो सुन्दरमणिले जे भन्छन् त्यही चल्छ। सुन्दरमणिले ओके भने भैहाल्यो, नो भने भएन। कसैले गीत रेकर्ड गराउनुपरे सुन्दरमणिलाई फोन गर्नुपर्छ। यदि फोन उठेन भने म्यासेज पठाउनुपर्छ।
कतिसम्म भने उनको विषय प्रधानमन्त्रीसम्म पुगेको थियो। स्व। पूर्वप्रधानमन्त्री सुशील कोइरालासम्म उनको रहस्यको विषय पुगेको थियो।
कोइरालाले विष्णु माझीका बारेमा सत्यतथ्य कुरा बाहिर ल्याउन पहल गर्ने आश्वासन दिएका कारण नै जिल्ला प्रशासन कार्यालयले खोजी गरेको थियो।
विष्णु माझी एकताका एकै दिनमा १२ वटाभन्दा बढी गीत रेकर्ड गराउँथिन् । जतिबेला उनको रेट ६ हजार थियो। गीतै मात्र गाएर माझीले चार करोड बढी कमाएको पनि दाबी गरिन्छ।
नेपाली गायन क्षेत्रमा एउटा गीत गाउनासाथ मिडियाको पछि कुद्ने कम छैनन्। चर्चा पाउनका लागि जुन हदसम्मका मल्टिमिडियामा पनि पुग्न रहर गर्छन्। तर गायिका माझी यस्तो मिस्ट्री क्वीन भइन् कि न मिडिया न सोसल मिडियामा छिन्। बस, गीत गाउँछिन् चल्छिन्। न देशी स्टेज न विदेशी स्टेज उनलाई केही चाहिन्न। रहस्य नै उनको महत्वको विषय बनिसकेको छ।