बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

एमाले २०८४ को निर्वाचनमा एक्लै लड्छ : प्रधानमन्त्री

बुधबार, भाद्र १९ २०८१

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ सालको निर्वाचनमा एमाले एक्लै निर्वाचन लड्ने बताएका छन् ।

मंगलबारबाट सुरू भएको पार्टी पोलिट्ब्यूरो बैठकलाई सम्बोधन गर्दै उनले २०८४ को निर्वाचनमा एमालेले कसैसँग गठबन्धन नगर्ने प्रस्ट पारेका हुन्।

‘नेकपा एमाले २०८४ को निर्वाचनमा कसैसँग गठबन्धन गर्दैन। एक्लै लड्छ। बरु त्यसपछि नतिजाका आधारमा सरकार बनाउन तालमेल गर्न सकिन्छ’, बैठकमा ओलीले गरेको ब्रिफिङ उधृत गर्दै एक पोलिटब्युरो सदस्यले भने,‘ त्यसका लागि शक्ति निर्माण गर्न आजैदेखि लाग्नुपर्छ।’

उनले मिसन ०८४ को तयारी गर्न पनि नेताहरूलाई निर्देशन दिए। त्यसका लागि पार्टीका राजनीतिक सांगठानिक कामलाई चुस्त दुरुस्त बनाउन र कार्ययोजना बनाएर कार्यान्वयनमा लैजान सक्नुपर्ने ओलीको भनाइ थियो।

‘संगठनहरु चुस्त दुरुस्त हुनुपर्‍यो, प्रदेश कमिटीहरू राम्रोसँग चल्न सकेका छैनन्, माथिको आदेश कुरेर बसेर मात्रै हुँदैन’, ओलीले भने, ‘ग्राउण्डमा योजना बनाएर अघि बढ्नुपर्‍यो र बनेका योजनाहरू कार्यान्वयनमा लैजानुपर्‍यो।’

पार्टी केन्द्रीय कार्यालय ललितपुर, च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा महासचिव शङ्कर पोखरेलले पार्टीको वार्षिक कार्ययोजना प्रस्तुत गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

कार्ययोजनामा पार्टी सदस्यता, विस्तार र अभिलेखीकरण, पार्टी र जनवर्गीय सङ्गठनका नियमित अधिवेशन, पार्टी कमिटी तथा नेता र कार्यकर्ताको मूल्याङ्कन गरिने कुरा समेटिएको उनले बताए । “पार्टी कमिटीले दिएका काम पूरा गर्छ कि गदैनन्, क्रियाशील छ कि छैनन् भनेर जोड दिइएको छ । विधिसम्मत तरिकाले पार्टी कमिटी चलेका छन कि छैनन् भनेर पनि मूल्याङ्कन गर्ने विषय पनि कार्ययोजनामा राखिएका छन्”, प्रचार विभाग प्रमुख गौतमले भने ।

यस्तै सरकार र जनप्रतिनिधिको प्रभावकारिता परिचालन गर्ने, सरकारले गरेका कामलाई जनस्तरमा लगेर स्थापित गर्ने कुरा पनि कार्ययोजनामा राखिएको जनाइएको छ । प्रत्येक पार्टी कार्यालयलाई प्रविधिमैत्री बनाउने, प्रचार कार्यलाई थप प्रभावकारी बनाउने, पार्टी कार्यालयमा प्रचार डेस्क स्थापना र सामाजिक सञ्जालमार्फत पार्टीका गतिविधि सञ्चालन गर्ने विषय पनि उल्लेख गरिएका छन् ।

भूमिका नपाएका नेता तथा कार्यकर्तालाई जिम्मेवारी दिइने र पार्टीका प्रत्येक तहका कमिटीले स्रोत सुनिश्चित गरेर बजेट निर्माण गर्ने कुरा पनि समेटिएको छ । प्रचार विभाग प्रमुख गौतमले एमाले केन्द्रीय कार्यालय भवन निर्माण गर्न समिति गठन गरेर चाँडै काम सुरु गर्ने विषय पनि कार्ययोजनामा रहेको बताए ।