बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

सञ्चारमन्त्री गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर संसदमा विरोध

मंगलबार, भाद्र १८ २०८१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर संसदमा विरोध भएको छ ।

प्रहरी महानिरीक्षकको जिब्रो थुतिदिनुपर्ने भनेर दिएको अभिव्यक्ति लोकतन्त्रको सिद्धान्त विपरित भएको भन्दै प्रतिनिधि सभाको आजको बैठकमा विरोध भएको हो ।

मंगलवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले लोकतन्त्रको आधारभुत सिद्धान्तमध्ये एक वाक स्वतन्त्रता भएको बताए । उनले प्रहरी प्रमुखले आफ्नो सांगठनिक चुनौतिको सम्बन्धमा बोल्दा सरकारका प्रवक्ताले जिब्रो थुतिदिनुपर्ने भनेको भन्दै वाक स्वतन्त्रता र लोकतन्त्र यही हो भनि प्रश्न गरे। उनले आफ्ना मन्त्रिपरिषद्का सदस्यहरुलाई सभ्यता सिकाउन सम्बन्धित दलका नेतालाई आग्रह गरे।

उनले आफूहरुलाई सभ्यता सिकाउनेहरुले आफ्नै नेताहरुलाई सिकाउन आग्रह गरे।
यस्तै कांग्रेसका सांसद रामहरि खतिवडाले गुरुङको अभिव्यक्तिप्रति आपत्ति जनाए । उनले आफू सत्तापक्षकै भए पनि मन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक रहेको बताए ।
उनले मन्त्रीहरुलाई जिब्रोमा ब्रेक लगाउन पनि आग्रह गरे ।

एमालेका उपमहासचिवसमेत रहेका गुरुङले शनिबार प्रेस चौतारीले पोखरामा गरेको कार्यक्रममा बोल्दै प्रहरी समायोजनको विषयलाई लिएर ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएपछि उनी विवादमा तानिएका छन् ।