काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक मंगलबार बिहानका लागि बोलाइएको छ ।
आजको बैठकमा यसअघि पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यबाट हटाइएका डा मुकुल ढकालमाथि अनुशासनको कारबाहीबारे छलफल हुने रास्वापाले जनाएको छ ।
रास्वपाले दोस्रो पटक स्पष्टीकरण सोधिएका डा ढकाललाई साधारण सदस्यबाट पनि हटाउने विषयमा छलफल गर्न लागेको हो ।
ढकालमाथि पार्टीको हितविरुद्ध गतिविधि गरेको आरोप छ । गत वैशाखमा इलाममा भएको उपनिर्वाचनपछि ढकालले विभिन्न जिल्ला भ्रमण गरेर पार्टीको समीक्षा प्रतिवेदन तयार गरेका थिए । उक्त प्रतिवेदन सर्वाजनिक भएपछि उनीमाथि रास्वापले कारबाही गरेको थियो ।
आजको बैठकमा आगामी असोजमा हुने, राष्ट्रिय भेला छाया सरकार सञ्चालन कार्यविधि, सङ्गठन सुदृढीकरण र विस्तार लगायत समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ ।