काठमाडौं । काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा गौराको कार्यक्रममा केही युवाहरुले नेताहरुविरुद्ध नाराबाजी गरेका छन् ।
सोमबार सुदूरपश्चिमको मौलिक र महत्वपूर्ण पर्व गौराका अवसरमा सैनिक मञ्च टुँडिखेलमा कार्यक्रम राखिएको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि थिए प्रधानमन्त्री केपी शर्मा ओली र विशिष्ट अतिथि थिए सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा।
कार्यक्रममको सुरुवातमा दर्शकदीर्घाबाट केही युवाले नारा लगाउन सुरु गरे ‘‘……चोर, देश छोड’ ‘‘…..पाराले, दु:ख पाए साराले’ को नारा लगाए।
प्रधानमन्त्री ओली अर्को कार्यक्रममा जानुपर्ने भन्दै पहिला बोलेर निस्कन खोजे। ओलीले मन्तव्य सुरु गरेलगत्तै कार्यक्रममा उपस्थित केही दर्शकले नाराबाजी र होहल्ला सुरु गरेका थिए। ओलीले छोटो मन्तव्य राखे। तर आक्रोशित भीडप्रति उनले सिधा आक्रोश देखाएनन् घुमाउरो शैलीमा असन्तुष्टि व्यक्त गरे।
उनले नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण रहेको उल्लेख गरे। केही नयाँ पुस्तामा सभ्यता र शिष्टता नदेखिएको पनि उनले टिप्पणी गरे। ‘नेपालीको परिचय मेलमिलाप हो।’ उनले भने, ‘तर कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको छ।’
सधैंजसो निकै लामो भाषण दिने प्रधानमन्त्री ओलीले होहल्ला र नाराबाजीका कारण कार्यक्रममा लामो बोलेनन्।
भाषणमै जंगिए देउवा
कार्यक्रममा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बोल्ने बेलामा पनि भीडले नाराबाजी गर्न छोडेनन्।
देउवा मंचमा आउनेबित्तिकै होहल्ला र नाराबाजी सुरु भएपछि देउवाले भने आफूलाई सम्हाल्न सकेनन् र जंगिए।
‘लाज पनि छैन। अर्काको कार्यक्रम बिथोल्ने ? लाज नभएकाहरु, यही हो नेपालको संस्कृति ? यही हो नेपालको चलन ? यही सिकेर आएको ? बकवासहरु।’ भन्दै देउवाले आक्रोश पोखे।
उनले गौरा पर्व बिथोल्नेहरूको कार्यक्रममा घुसपैठ भएको आरोप पनि लगाए। ‘यहाँ गौरा पर्व मनाउन आएकाहरू छन्। देउडा खेल्न आएका छन्। यहाँ न अरूको कुरा सुन्छन्। न देउडा खेल्न दिन्छन्। अरूको कार्यक्रम बिथोल्नेहरू छन्। त्यस्तालाई जनताले ठिक पार्नुपर्छ।’ देउवाले थपे।
देउवाले सुदूरपश्चिमको संस्कृतिलाई चिनाउन गौरा पर्व महत्वपूर्ण रहेको बताए।
कार्यक्रममा ओली र देउवासँगै एमाले नेता भीमबहादुर रावल, संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीलगायत सहभागी थिए।