काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले आफ्नो कार्य अन्तिमतिर आइपुगेको बताएको छ । उसले छानविनको कार्य अब प्रतिवेदन लेखनमा केन्द्रित हुने बताएको छ ।
शनिवार सिंहदरबारमा बसेको सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समिति सभापति सुर्य थापाले यस्तो बताएका हुन् । उनले समिति शोधपुछको कार्य अन्तिमतिर आइपुगेको र अब प्रतिवेदन लेखनको काममा लाग्ने बताए ।
उनले समितिले विभिन्न मुद्दामा कारागारमा रहेका सहकारी सञ्चालकहरुसँग बयान लिने काम लगभग सकिएको जानकारी दिए । उनले शनिबारको बैठकमा नख्खु कारागारमा रहेका कृषि विकास बहुउद्देश्य सहकारी संस्था तथा कृषि विकास वचत तथा ऋण सहकारी संस्थाका ललितपुर र भक्तपुरमा कार्यक्षेत्र भएका दुई वटा संस्था सञ्चालन गर्दै आएका तेजविक्रम थापालाई बोलाएर शोधपुछ गरिएको बताए ।
उनले पछिल्लो समयमा जिबी राईको नेतृत्वमा पुगेको हाम्रो नयाँ कृषि बहुउद्देश्य सहकारी संस्था भक्तपुरका पूर्वअध्यक्ष सूर्यबहादुर गुरुङ र ज्येष्ठ लगायत ८ वटा सहकारी संस्थासँग संवद्ध मधुसुदन पाठकसँग शोधपुछ गरेको पनि बताए ।
उनले समितिले धरान उपमहानगरपालिकको नियमनमा रहेको बराह वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मानबहादुर विश्वकर्मासँग पनि शोधपुछ गरेको बताए ।
सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले आज पाँच वटा सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकसँग बयान लिँदैछ ।
समितिले हालसम्म जेलमा रहेका १८ सहित ३४ जनाको बयान लिइसकेको छ। समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित छविलाल जोशीको भदौ ७ गते गते बयान लिने तयारी गरेको छ ।