शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

मोटरसाइकल चोरीमा संलग्न दुई जना ट्राफिक प्रहरीको नियन्त्रणमा  

बिहिबार, साउन ३१ २०८१

काठमाडौं । काठमाडौँको बालाजु बाइपास र लोलाङबाट मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई बुधबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । प्युठानको गौमुखी गाउँपालिका ५ घर भई काठमाडौँको भत्केको पुल बस्ने २८ वर्षीय वसन्त हमाल र मकवानपुर घर भई लोलाङ बस्दै आएका २८ वर्षीय रुपेन कुमार परियारलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो
बालाजु बाइपासबाट हमालले चलाएको बा ९६ प ११ ६० नम्बरको पल्सर मोटरसाइकल ट्राफिक प्रहरीले शंका लागेर नियन्त्रणमा लिएको थियो । हमालले उक्त मोटरसाइकल परियारले दिएको भनि वयान दिएकाले उनलाई पनि लोलाङबाट नियन्त्रणमा लिन प्रहरी सफल भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वलराज खड्काले जानकारी दिए ।
वास्तविक नम्बर बा ९९ प ५९८७ रहेको उक्त मोटरसाइकल काभ्रेस्थलीबाट हराएको भनि काठमाडौँकै तार्केश्वर नगरपालिका २ बस्ने पुष्कर लामिछानेले खोजतलासको लागि निवेदन दिएका थिए । नियन्त्रणमा आएका दुवैलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको छ।
आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रवक्ता खड्काले सम्पूर्णमा अनुरोध गरेका छन् । हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि सवारी धनी स्वयम् सजग भई सुरक्षित स्थानमा पार्किङ गर्न हुन समेत अनुरोध गरिन्छ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ।