बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

नेतृत्व हस्तान्तरणबारे प्रचण्डको जवाफ : तपाईंहरुलाई हो टेन्सन, हामीलाई केही छैन

मंगलबार, साउन २९ २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी नेतृत्व हस्तान्तरण प्रक्रिया सबै मिलाएर अघि बढाउने बताएका छन् ।

सोमवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग उनले यस्तो बताएका हुन्।

पार्टीभित्र त्यसबारे कुनै ‘टेन्सन नभएको बरु सञ्चारकर्मीलाई टेन्सन भएको’ उनको प्रतिक्रिया थियो ।

नेतृत्व हस्तान्तरणबारे लिखित प्रस्ताव नै आयो के छ यसमा तपाईंको धारणा भन्दै सञ्चारकर्मीले प्रश्न गरेपछि उनले भने, ‘केही हुँदैन, सबै मिलेर जान्छ, तपाईंहरुलाई हो टेन्सन, हामीलाई केही छैन।’

पार्टीको स्थायी कमिटी बैठकमा पार्टीका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डलाई संरक्षक बनेर तेस्रो पुस्ताको चाहेको व्यक्तिलाई पार्टी अध्यक्ष बनाउन लिखित प्रस्ताव पेश गरेका थिए।

शर्मा र पुनको भाषाशैली फरक÷फरक भए पनि आशय प्रचण्डले अब नेतृत्व छोड्नुपर्ने नै हो ।

माओवादी स्थायी कमिटी बैठकमा नेता शर्माले त लिखित डकुमेन्ट नै पेस गरेर नेतृत्व हस्तान्तरण गर्न प्रचण्डलाई आग्रह गरेका छन् ।

प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न र भूमिकालाई सुनिश्चित गर्न अबको बाँकी समय वैचारिक र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका प्रचण्डले चाहेकै व्यक्तिलाई हस्तान्तरण गर्नुपर्ने शर्माको जिकिर छ ।

शर्माले मात्र होइन प्रचण्डकै विश्वास पात्र वर्षमान पुनले पनि प्रचण्डको विकल्प खोज्ने बेला भइसकेको स्थायी कमिटी बैठकमै बताएका छन् । प्रचण्डले जनयुद्धपूर्वदेखि शान्ति प्रक्रियासम्म अविच्छिन्न रूपमा ३५ वर्ष नेतृत्व लिने अवसर पाएको तर अब भने त्यस्तो हुन नहुने पुनको तर्क छ ।

माओवादी केन्द्रमा पहिलोपटक नीति र नेतृत्व फेर्ने कुराले प्रवेश पाएको हो ।

३५ वर्षदेखि पार्टीमा एकछत्र नेतृत्व गरिरहनु भएका प्रचण्डलाई चुनौती दिने गरी कोही नेता तयार नभए पनि माओवादीको वैचारिक कार्यदिशा र नेतृत्व दुवैको समीक्षा गर्नुपर्ने प्रस्ताव नेताहरूले राखेका छन् ।

पार्टी कमजोर भएको, जनतासँगको सम्बन्ध बिग्रेको, आफ्नो वर्गबाट टाढा भएको र नेताहरूको चरित्रमा ह्रास आएको छ भन्ने कुरामा सबैको स्वीकारोक्ति छ । नेताहरूले अहिलेको नीतिले पार्टी नचल्ने र जनताको मन जित्न नसक्ने भन्दै बदल्नुपर्ने धारणा राखेका छन् ।