बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

भारतीय विदेश सचिव मिश्री आइपुगे काठमाडौं

आइतबार, साउन २७ २०८१

काठमाडौं ।भारतका विदेश सचिव विक्रम मिश्री दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आइपुगेका छन्।

विदेश सचिव मिश्रीलाई विमानस्थलमा नेपाली समकक्षी सेवा लम्सालले स्वागत गरिन्। उनले आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

नेपालमा कांग्रेस-एमालेको गठबन्धन सरकार बनेपछि भारतको यो नै पहिलो उच्चस्तरीय भ्रमण हो ।

मिश्रीले भोलि ११ बजे परराष्ट्रमन्त्री आरजु राणासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भारतका विदेशसचिवको यो भ्रमण नियमित हो । उनी हालै विदेशसचिवमा नियुक्त भएका हुन्। उनको यो भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै भारतको ‘छिमेक पहिलो नीति’अन्तर्गत नेपालसँगको सम्बन्धलाई भारतले दिएको प्राथमिकतालाई प्रतिविम्बित गरेको कूटनीतिक क्षेत्रका जानकारहरूले बताएका छन् ।

विदेशसचिव मिस्री भोलि साउन २८ गते स्वदेश फर्किने छन् ।