काठमाडौं । सत्ताबाट प्रतिपक्षमा पुगेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बेचैनी र छटपटी निक्कै बढेको छ । सरकारमा पुग्नका लागि उनले भित्रभित्रै अनेक खेल सुरु गरिसकेका छन् । तर, पार्टी पंक्ति भने उनको यो खेलको विपक्षमा उभिएका छन्।
अहिले सरकारमा जाने भन्दा पनि जनतामा गएर पार्टीलाई बलियो बनाउने, गल्ती कमजोरी स्वीकार गरी पदाधिकारीले सामूहिक राजीनामा दिनेसम्मका कुरा उठेका छन् । यति मात्र होइन कहाँ कहाँ कहिले के गल्ती गरियो भनी समिक्षा नगरी अब सरकार र कुर्सी हेर्न नहुने आवाज पनि बलियो भएको छ।
यस्ता बहसमा माओवादी केन्द्रीत हुनुपर्ने पदाधिकारी बैठकमा कुरा उठेका थिए । यीबाहेक पनि अन्य धेरै विषयको उठान गर्दै पदाधिकारी जति सबैले धारणा राख्ने मौका पाए।
बैठक लामो विषयमा छलफल भई सकियो। सामूहिक राजीनामादेखि सरकारमा रहेको विषयसम्ममा गहिरोगरी पदाधिकारीले आफ्ना धारणा राखेका थिए।
सरकारमा रहेर जनतामा डेलिभरी दिन नसकेको र माओवादीबिरोधी शक्ति हावी भएको भन्ने पनि उठ्यो । सत्ता समीकरण परिवर्तन हुँदैछ भन्ने प्रधानमन्त्री रहेका बेला अध्यक्ष प्रचण्डले सुइँकोसम्म नपाएको भन्ने विषयले आलोचना पनि भयो।
‘उता कांग्रेस एमाले मिलेको सबैलाई थाहा भइसक्यो, हल्ला चलिसक्यो यता बालुवाटारको काउचमा बसेर ढुक्कले बस्नुस् सरकार परिवर्तन हुँदैन, यो हल्ला हो भनियो’, बैठकमा प्रचण्डकेन्द्रित टिप्पणी गर्दै एक पदाधिकारीले भने,‘अझ अध्यक्षको छोरीका भर्सनमा न्यूज आउँछन्। अध्यक्षले पार्टीको स्थिति केही ख्याल गर्नु पनि भएको छ र?’
उपमहासचिव हरिबोल गजुरेलले प्रचण्डको आलोचनात्मक हिसाबले टिप्पणी गरेका थिए । सरकारमा रहेर भनेको काम नै गर्न नसक्ने स्थिति भएपछि आफूले राजनीतिक सल्लाहकारबाट राजीनामा दिएको विषय पनि उनले उठाएका थिए।
सरकारमा हुँदा पार्टीका नेता भन्दा पनि प्रचण्डले परिवारलाई महत्व दिएका कारण प्रभावी काम हुन नसकेको चर्चा भएको थियो । ‘परिवारका कुरा सुन्ने, गठबन्धन परिवर्तन गरी परिवारका सदस्यलाई नै पद बाँड्ने काम भयो’, उच्च स्रोतले भन्यो,‘चुनावमा गएको गठबन्धन भत्काउने विषयमा एक बचन कसैलाई सोधिएन फेरि धोका पाइन्छ भन्ने थाहा हुँदहुँदै केपी शर्मा ओलीसँग किन मिलेको भन्ने विषयको उत्तर आएन।’
प्रतिनिधि सभाको बैठकमा प्रचण्डले आफूमाथि धोका भएको तथा आफूलाई लट्याइएको बताएका थिए । त्यतिले मात्र अहिले सत्ताबाहिर हुने विषयको पुष्टि नहुने पदाधिकारीले बताएका थिए । जहाँ तत्कालिन प्रधानसेनापति रहेका रुक्माङ्गत कटवाललाई कारबाही गर्नु ठिक थियो कि गल्ती थियो भन्नेबाट जानुपर्ने तर्क अघि आएका थिए।
नियमित अवकाशमा जान ४ महिना मात्र बाँकी छँदा मच्चाइएको काण्डका कारण नै जनमुक्ति सेना समायोजनमा गति लिन नसकेको विषयदेखि समिक्षा हुनुपर्ने पदाधिकारीले धारणा राखेका थिए।