काठमाडौँ । नेकपा (माओवादि) केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेपाली शान्ति प्रक्रियाको मौलिकता र विशेषता विश्वव्यापी स्थापित हुने विश्वास व्यक्त गरेका छन्।
आज सिंहदरबारस्थित गृहमन्त्रालयमा बसेको तीन दल सम्मिलित संयन्त्रको बैठकबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि मिल्न बाँकी विषयमा सहमति जुटेसँगै उनले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गर्दै यस्तो बताएका हुन्।
उनले आफूलाई कार्यदल सदस्यका रूपमा महत्त्वपूर्ण जिम्मेवारी दिएकोमा अध्यक्ष प्रचण्डलाई धन्यवाद दिएका छन्।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– ‘टिआरसी विधेयक संशोधनको लागि सहमति जुट्न नसकिरहेको सन्दर्भमा माननीय गृहमन्त्री रमेश लेखक, माननीय महेश बर्तौला र म समेतलाई दिएको जिम्मेवारी, सरोकारवाला सबै पक्ष र विज्ञहरूको सल्लाह, सुझाव र सहयोग समेत लिई संशोधन गर्न सहमति हुन नसकेका सबै विषयहरू टुङ्गोमा पुर्याउन, समिति लागि सहजीकरण गर्न सफल भएका छौँ। यसबाट नेपालको शान्ति प्रक्रियाको बाँकी कार्यभार छिटो पूरा भई नेपाली शान्ति प्रक्रियाको मौलिकता र विशेषता विश्वव्यापी स्थापित हुने विश्वास व्यक्त गर्दछु।’
विधेयकमा नमिलेका कुरा मिलाउन लेखक, बर्तौला र शर्मा सम्मिलित तीन सदस्यीय कार्यदल गठन भएको थियो ।
