काठमाडौँ । शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन भएको छ ।
आज बिहान ७:३० बजे आफ्नै जन्मथलो सिराहाको लक्षम्पीर पतारी गाउँपालिका २ पोखरभिण्डामा निधन भएको छ ।
६९ वर्षीय कामतको आजै अन्त्येष्टि गर्ने तयारी छ । उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए । पछिल्लो समय उनलाई घरमा डाइलासिस गराउने गरिएको थियो ।
गुरुदेव कामत नेपाली संगीत क्षेत्रमा एउटा सम्मानित नाम हो । उनी नेपाली संगीतको क्षेत्रमा गायक, संगीतकार तथा संगीत गुरुका रूपमा परिचित थिए । शास्त्रीय गायक कामत नेपाल–भारत क्षेत्रमा प्रख्यात छन् ।
कामतको दुवै मिर्गौलामा समस्या देखिएको गत चैतमा पत्ता लागेको थियो । पछिल्ला ४० वर्ष काठमाडौँमा रहेर नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आएका उनी आर्थिक अभावकै कारण गाउँ फर्किएका थिए । उपचारका लागि आर्थिक संकटको सामना गर्नुपरेपछि उनी सपरिवार आफ्नो जन्मथलो सिरहाको पोखरभिन्डा फर्किएका थिए ।