काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले पदबाट राजीनामा दिएका छन्।
यतिबेला उपमहासचिव हरिबोल गजुरेलले पदबाट दिएकाे राजीनामाले माओवादी भित्र चर्चा चलाएकाे छ । उनले पार्टी नेतृत्वबाट भएका मुख्यतः ६ वटा ‘गल्ती’ औँल्याउँदै साउन १४ गते लिखितरूपमा राजीनामा पेस गरेका हुन्।
उपमहासचिव गजुरेलले नेताहरूको जिम्मेवारी दिँदा गरेको गल्तीले नेतृत्वको अक्षमता छताछुल्ल भएको भन्दै ढिला नगरी सच्याउन आग्रह गरेका छन्।
पार्टी मुख्यालयमा पाँच दिनसम्म चलेको पदाधिकारी बैठकमा पार्टीको नैतिक धरातल धुजाधुजा भएको भन्दै उनले पदबाट राजीनामा दिएका छन् । निर्वाचनले तेस्रो दल बनेको माओवादी त्यो पनि काँध फेरि फेरि सरकारमा रहन मरिहत्ते गर्नुले जनताले माओवादी केन्द्रका पदाधिकारीलाई हेर्ने दृष्टिकोणको भास्यलाई चिर्नुपर्ने उनको आसय थियो ।
बैठकमा पार्टीलाई लेखिएको पत्र वाचन गर्दै उनले सबैले सामुहिक राजीनामा दिनुपर्ने माग पनि गरेका छन् । यता माओवादीका केही नेताले भने गजुरेलले राजीनामा नदिइ पार्टी बैठकमा आफ्ना धारणा लिखित रुपमा राखेको बताएका छन् ।
फलामलाई तातेकै बेला आकार दिन सकिने भन्दै गजुरेलले अरु सामुहिक राजीनामा दिन तयार नभए पनि आफ्नो भागमा परेको गल्तीको नैतिक जिम्मेवार लिँदै राजीनामा दिएकाे बताएका छन् । तर, उनको राजीनामा स्वीकृत भए/नभएको हालसम्म खुलाइएको छैन। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै उनले राजीनामा पत्रमा पार्टी बिग्रनुमा आफू पनि दोषी रहेको स्वीकार गरी प्रायश्चित समेत गरेकाे श्राेतकाे दाबी छ ।
कार्यकर्ता र जनताको विश्वास जितेर पार्टीलाई एकताबद्ध गर्न र निरन्तरतामा क्रमभंग गर्न आवश्यक छ। घिसेपिटे निर्णय गरेर कार्यकर्ता र जनताको भाँचिएको मन जोड्न नसकिने उनको आसय छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार भएका बेला गत मंसिरमा पनि गजुरेलले राजीनामा दिएका दिए । तर उनको राजीनामा स्वीकृत भएको थिएन । प्रधानमन्त्रीका तत्कालिन कदमप्रति असन्तुष्टि जनाइ उनले राजीनामा दिएको चर्चा चलेपनि के कति कारणले राजीनामा दिएका थिए भन्ने बाहिर आएन । त्यो बेला उनले राजीनामा दिनुको कारण खुलाउन चाहेनन् । ‘राजीनामा स्वीकृत भएपछि यसको कारण सार्वजनिक गरौंला’, उनले भनेका थिए । त्याे कारण उनले हालसम्म सार्वजनिक त गरेनन् तर, बाहिर आएका कारणहरुमा प्रचण्ड पुत्री एवं स्वकिय सचिव गंगा दाहालसँगको नोकझोकका कारण गजुरेलले राजीनामा दिएको चर्चा थियो ।
यता भर्खर सकिएको पदाधिकारी बैठकमा माओवादी केन्द्रले भने आगामी चुनाव एक्लै लड्ने निष्कर्ष निकालेका छ । माओवादी केन्द्रले आगामी निर्वाचनमा एक्लै जानेगरी पार्टी संगठन निर्माण गर्ने निष्कर्ष निकालेको हो । पार्टी मुख्यालयमा पाँच दिनसम्म चलेको पदाधिकारी बैठकले अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकारले गरेका राम्रा काम जनताकहाँ लिएर जाने निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले बताएका छन् ।
उनले चुनावी गठबन्धन गर्दा पार्टीको विचार र सिद्धान्त जनतासम्म लैजाने मौका नमिलेको स्वीकार्दै भने, ‘हाम्रो सरकारले गरेको कामलाई उठाउने र भ्रष्टाचारविरोधी अभियान अगाडि बढाउन सरकारलाई दबाब दिने, आगामी निर्वाचन एक्लै लड्ने तयारी गर्ने, जसले गर्दा हाम्रा मुद्दाहरु राजनीतिक कार्यदिशा र दृष्टिकोण जनतामा सोझै पुग्न सकियोस् ।’
उनले समाजवादी मोर्चा हुँदै अग्रगामी शक्तिहरुको एकता हुने जिकिर समेत गरेका थिए । देशमा समाजवाद स्थापनाको लागि माओवादीले नै नेतृत्व गर्नुको विकल्प नभएको उनको भनाइ छ ।
माओवादी केन्द्रले साउन २५ गतेका लागि स्थायी समितिको बैठक बोलाएको छ।