काठमाडौं । सामाजिक संजालको दुरूपयोग गरी सम्पर्कमा आएका पीडितको रकम ठगी गरेको अभियोगमा झापा बिर्तामोड नगरपालिका–९ घर भई ललितपुर चाङथली बस्ने २३ वर्षीय पुरूषोत्तम भण्डारीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो।
भण्डारीले पीडितहरुलाई क्यानडा लैजान्छु भनि प्रलोभन देखाई विभिन्न व्यक्तिहरूको नाममा रहेका बैंक खाताहरूमा पटक पटक गरी ८४ लाख १५ हजार ६ सय २५ रूपैयाँ रकम पठाउन लगाई ठगी गरेको खुल्न आएको छ । उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।