बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

संक्रमणकालीन न्याय सम्बन्धी कार्यदलको बैठक जारी

सोमबार, साउन १४ २०८१

काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंगो लगाउन गठित कार्यदलको बैठक जारी छ।

बैठक आज बिहान आठ बजेदेखि सिंहदरबारस्थित गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा बसेकाे हाे ।

बैठकमा टुंगो लाग्न बाँकी विषयमा सरोकारवालासँग छलफल गर्ने गत शुक्रवारको कार्यदलको बैठकको निर्णयानुसार आज बैठक बसेको हो ।

बैठकमा कानूनमन्त्री अजयकुमार चौरसिया, कानून, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदी, महान्यायाधिवक्ता रमेश बडाल लगायतको उपस्थिति रहेको छ ।

कार्यदलस्तरमा द्वन्द्वकालीन मुद्दामा पीडितको स्वतन्त्र सहमति नभए के गर्ने र स्वतन्त्र सहमति नभए अदालतमा जान सकिने बाटो खुला गर्नुपर्ने विषयमा छलफल जारी छ ।

सशस्त्र द्वन्द्वकालमा भएका मानवअधिकारको गम्भीर उल्लंघनका घटनामा संलग्नहरुलाई प्रचलित कानूनमा भएभन्दा ७० प्रतिशतसम्म कम सजाय गर्नसक्ने व्यवस्था गर्ने भन्नेबारेमा पनि सहमति जुटिसकेको छैन । यद्यपि सैद्धान्तिक रुपमा भने सहमति भइसकेको बताइएको छ ।

यसअघि पनि शुक्रबार गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि सहमति जुटाउने विषयमा छलफल गरेको थियो । उक्त बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि सैद्धान्तिक सहमति जुटाएको बताइएको छ । सो सम्बन्धमा कानुनमन्त्री, महान्याधिवक्ता र सरोकारवालासँग पनि छलफल गर्ने निर्णयपछि आजको बैठकमा सरोकारवाला निकायका पदाधीकारीहरूको सहभागिता रहेको हो ।

पीडितमैत्री, सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय कानुनलाई आधार बनाएर विधेयकमा सहमति जुटाउने प्रयास हुने जनाइएको छ ।

सरोकारवालासँग छलफलपछि सोही आधारमा प्रतिवेदन तयार पार्ने र शीर्ष नेताहरुलाई बुझाउने कार्यदलको तयारी छ ।