काठमाडौं । मोरङको मिक्लाजुङ गाउँपालिका–१ झण्डेडाँडास्थित सडकमा बा.२७ प १८३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार बेलबारी नगरपालिका–१ बस्ने सुनिल कुमार धिमालकी छोरी १३ वर्षीया सुस्मिना धिमालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सुनिल कुमार र उनकी श्रीमतीको सोही अस्पतालमा उपचार भइरहेको छ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–४ नयाँठिमीस्थित सडकमा बा.४ ख २९०१ नम्बरको टिपरले ग.७ प ५३५३ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा मोटरसाइकल चालक चाँगुनारायण नगरपालिका–६ बस्ने २६ वर्षीय सुवाश मोक्तानको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।