काठमाडौं । राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०८१/८२ का लागि मौद्रिक नीति सार्वजनिक गर्दै छ ।
आज दिउँसो मौद्रिक नीति सार्वजनिक गर्ने तयारी अनुसार अहिले केहीबेरमा नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठक बस्दै छ ।
मौद्रिक नीतिको प्रमुख औजार मानिने नीतिगत दरहरूमा सामान्य परिवर्तन गर्दै बजार चलायमान बनाउनेगरी नीतिगत व्यवस्था परिमार्जन गर्नेगरी मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी छ ।
सार्वजनिक हुन लागेको मौद्रिक नीति विशेषगरी उद्योगी एवम् व्यवसायीहरूले चासोका साथ हेरिरहेका छन् । यसअघि गत शुक्रबार नै सार्वजनिक गर्ने तयारी गरिए पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो । अघिल्लो वर्ष मौद्रिक नीति साउन ७ गते सार्वजनिक गरिएको थियो ।
यसअघि कांग्रेस–एमालेको समीकरणपछि बनेको नयाँ सरकारले मौद्रिक नीतिका सवालमा केही अध्ययन गर्न बाँकी रहेको भन्दै नीति सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरिएको थियो ।
अर्थतन्त्र दबाबमा रहेका कारण यस पटकको मौद्रिक नीति कस्तो आउला भनेर सबैतिरबाट हेरिरहेका छन् । सेयर बजारका लगानीकर्ता मौद्रिक नीति कुरेर बसेका छन् भने निजी क्षेत्रदेखि सबै सरोकारवालाले मौद्रिक नीतिलाई चासोका साथ हेरिरहेका छन् ।
मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने उपायका साथ बैंकमा लगानीयोग्य रकम थुप्रने क्रम बढ्दै गएको सन्दर्भमा कर्जा विस्तारका साथै निर्माण क्षेत्रलाई गतिशील तुल्याउन, सेयर धितो र घरजग्गा कर्जामा केही लचिलो बन्ने लगायत उद्योग–व्यवसायमैत्री मौद्रिक नीति केन्द्रीय बैंकको सार्वजनिक गर्ने तयारी छ ।