काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकालमा अर्थतन्त्रमा व्यापक सुधार भएको दाबी गरेका छन् ।
शुक्रबार संसदमा बोल्दै प्रधानमन्त्री प्रचण्डले गत वर्ष १.९५ प्रतिशत रहेको आर्थिक वृद्धिदर यस वर्ष ३.८७ प्रतिशत पुगेको जिकिर गरे ।
प्रचण्डले संविधान कार्यान्वयन, सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना, सुशासन प्रवर्द्धन, सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण हुँदै गएको बताए।
प्रधानमन्त्री प्रचण्डले नागरिकमैत्री शासन प्रणालीको स्थापना तथा भ्रष्टाचार नियन्त्रण,राष्ट्रिय हितको रक्षालगायतका सबै जिम्मेवारीमा सरकार आम जनताले देखिने र बुझिने गरी राम्रो अङ्कका साथ उत्तीर्ण भएका स्पष्ट पारे।
सामाजिक न्याय, सुशासन र समृद्धिका क्षेत्रमा बनेका कैयौँ मानकहरू त्यही अग्रसरताका परिणाम भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले संघ,प्रदेश र स्थानीय तहबीचको समन्वय तथा अन्तरसम्बन्ध व्यवस्थित गर्न राष्ट्रिय समन्वय परिषद, प्रशासनिक समन्वय परिषद तथा विषयगत समितिहरूलाई सक्रिय बनाइएको बताए । उनले देश आर्थिक सङ्कटबाट धेरै बाहिर आएको स्पष्ट पारे।