शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

विश्वासको मत र प्रधानमन्त्रीको पदका विषयमा म कहिल्यै चिन्तित हुन्न : प्रधानमन्त्री दाहाल

'संविधानलाई मध्यरातमा झम्टीझम्टी च्यात्न खोज्दा पनि बचाइएको हो र आउने दिनमा पनि बचाइनेछ’

शुक्रबार, असार २८ २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत र प्रधानमन्त्रीको पदका विषयमा आफू कहिल्यै चिन्तित नभएको बताएका छन् ।

विश्वासको मत लिने प्रस्ताव संसदमा पेश गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले विश्वासको मत पाउँला नपाउँला, म प्रधानमन्त्री रहुँला नरहुँला, त्यसमा म बिल्कुल चिन्तित छैन।’

उनले प्राकृतिक विपद्का घटनाहरु बढेका बेला विश्वासको मत लिने समय सार्ने कि भन्ने सोचेको बताएका छन् । तर दुई घण्टा समय सार्ने प्रस्ताव समेत कांग्रेस र एमालेले नमानेकाले अर्को अर्थ लाग्ला भनेर सभामुखलाई नभनेको प्रधानमन्त्रीले बताए ।

प्रधानमन्त्री प्रचण्डले संविधानमा नेकपा (माओवादी केन्द्र) को सबैभन्दा ठूलो लगानी भएको उल्लेख गर्दै यसलाई माओवादीले कमजोर बनाउन नदिने स्पष्ट पारे।

‘यो संविधानमा माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी छ। त्यसैले यसलाई माओवादीले कमजोर बनाउँदैन र बनाउन पनि दिँदैन,’ उनले भने, ‘संविधानलाई मध्यरातमा झम्टीझम्टी च्यात्न खोज्दा पनि सडकमा पलेटी कसेर जनताको साथ लिएर बचाइएको हो र आउने दिनमा पनि त्यसरी नै बचाइनेछ।’