शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

पाँचौं पटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

शुक्रबार, असार २८ २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले आज संसदबाट विश्वासको मत लिँदै छन् ।

प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले) ले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि प्रचण्डले पाँचौंपटक विश्वासको मत लिन लागेका हुन् ।

२०७९ पुस १० गते प्रधानमन्त्री बनेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले पाँचौंपटक विश्वासको मत लिन लागेका हुन् ।

एमाले र जसपाले सरकारलाई दिएको समर्थन फिर्तासँगै नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न एमाले र कांग्रेसले प्रचण्डसँग आग्रह गर्दै आएका थिए । तर, प्रचण्डले भने संसद् फेस गर्ने बताउँदै आएका छन् ।

प्रधानमन्त्री प्रचण्डको विपक्षमा मतदान गर्न बिहीवारसम्ममा कांग्रेस, एमाले, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टीसहितका दलले ह्वीप जारी गरिसकेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

दुई दलको सहमति संविधानको धारा ७६ को उपधारा २ अनुसार एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्नेछन् ।

तर माओवादीले भने संविधानको धारा ७६ को उपधारा ३ अनुसार नयाँ सरकार बन्ने जिकिर गर्दै आएको छ ।

यही विवादका बीच दुई दलले उपधारा २ अनुसार कै प्रधानमन्त्रीका लागि दाबी पेश गर्ने तयारी गरेका छन् ।
दुई दलबीचको सहमतिअनुसार पहिलो दुई वर्ष ओली प्रधानमन्त्री बन्नेछन् ।

त्यसपछिको डेढ वर्ष चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नेछन् ।

विश्वासको मत नपाउने लगभग पक्का भएपछि प्रधानमन्त्री प्रचण्ड आजै सरकारी निवास बालुवाटार छोड्ने भएका छन् ।

प्रधानमन्त्री सचिवालयका अनुसार संसदमा विश्वासको मत लिने प्रक्रिया पूरा भएपछि उनी सिधै निजी निवास खुमलटार जाने भएका हुन् ।