काठमाडौं । विश्व प्रख्यात लुब्रिकेन्ट ब्रान्ड भिडोलले नेपालमै उत्पादन शुरु गरेको छ । भिडोललाई नेपालमा युनाइटेड लुब्रिकेन्ट प्रालिले उत्पादन गर्न शुरु गरेको हो । भिडोल इन्टरनेसनल, यूकेसँग ट्रेडमार्क लिई यसको उत्पादन नेपालमै शुरु गरिएको कम्पनीका विजनेस हेड दिनेश खनालले बताए।
अटोमोटिभ र इन्डष्ट्रियल प्रयोजनमा प्रयोग हुने सबै रेन्जका भिडोल लुब्रिकेन्ट उत्पादन शुरु गरिएको खनालले जानकारी गराए । ‘हामीले भिडोल इन्टरनेसनलसँग टेक्नोलोजी ट्रान्सफर गरी यसको ट्रेडमार्क प्रयोग गरेर लुब्रिकेन्ट उत्पादन थालेका हौँ । अन्तर्राष्ट्रिय रुपमा उपलब्ध हुने एपीआई लगायतका विभिन्न गुणस्तर प्रमाण चिन्ह पाए बराबरको गुणस्तर यसमा हुनेछ । लुब्रिकेन्ट उत्पादनका लागि आवश्यक उपकरण तथा अन्य कच्चा पदार्थ सबै गुणस्तरीय प्रयोग गरेका छौँ ।’ उनले भने।
धनुषाको ढल्केवरमा ब्लेन्डिङ प्लान्ट स्थापना गरेको युनाइटेड लुब्रिकेन्टले यसअघि स्वदेशी ब्रान्ड नेपाल गोल्डलाई बजारमा ल्याइसकेको छ । सोही प्लान्टबाट अव भिडोल लुब्रिकेन्ट समेत उत्पादन गर्न शुरु गरिएको हो । यो लुब्रिकेन्ट यसअघि भारतबाट आयात हुँदै आएको थियो । अटोमोबाइल पार्ट्सको व्यवसाय गर्दै आएको अग्रणी कम्पनी सत्यदीप ग्रुपको अगुवाईमा युनाइटेड लुब्रिकेन्ट्स इन्डष्ट्रिजको स्थापना भएको हो । भिडोल नेपालमै उत्पादन हुने गल्फ पछिको दोस्रो बहुराष्ट्रिय ब्रान्ड बनेको छ।
भिडोल लुब्रिकेन्ट नेपाली बजारमा सन् २०१२ देखि नै उपलब्ध छ । यो लुब्रिकेन्ट सवारी साधनतर्फ मोटरसाइकल, कार, मिनीभ्यान, एसयूभी र कमर्सियल तथा हेभी इक्विपमेन्टमा प्रयोग भइरहेको छ । साथै यसको प्रयोग उद्योगहरुमा पनि हुुँदै आएको छ । भिडोललाई विश्वका प्रायः सबैजसो ठूला र प्रख्यात अटो उत्पादकले आफ्नो सवारी साधनमा ओईएम प्रोडक्टमा रुपमा प्रयोग गर्न सिफारिस गरेका छन्।