शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

लगभग शत प्रतिशत मतभारकाे विश्वास कमाएका प्रचण्ड ६३ मत कतै नजाने गरी विश्वासको मत लिँदै

शनिबार, असार २२ २०८१

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले आगामी २८ गते संसदबाट विश्वासको मत लिँदैछन् ।

कुनै बेला लगभग शतप्रतिशत विश्वासको मत पाएका प्रधानमन्त्री प्रचण्ड विश्वासको मतको पाँचौ चरणमा आइपुग्दा अहिले ६३ मत कतै नजाने गरी विश्वासको मत लिने तयारी थालेका छन् । भलै उनले एक एक/सीटे साना दल र स्वतन्त्रका गरी २/४ मत अरु बढाउलान् ।

लगभग दुई वर्षमा उनले पाँचौं पटक संसदमा प्रधानमन्त्रीका रुपमा विश्वासको मत लिन लाग्दैछन् । राजनीतिमा कुनै अप्रत्याशित उल्ला नभए आगामी शुक्रबार उनले बालुवाटारबाट बाहिरिनु निश्चित प्राय: छ ।

संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले मिलेर सरकार बनाउने सहमति गरेपछि प्रचण्डको सरकार सङ्कटमा परेको हाे।

नयाँ सत्ता समीकरण बनेसँगै एमालेलगायत अशोक राईको जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्री पनि फिर्ता बोलाएको अवस्था छ । अहिले प्रधानमन्त्री प्रचण्डको सरकार स्पष्ट अल्पमतमा छ । उनलाई देखिने गरी माधव नेपालको एकीकृत समाजवादी र रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकोसाथ छ ।

सरकारको ठूलो दल एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्ड संसदबाट विश्वासको मत लिने तयारीमा छन् । आगामी २८ गते विश्वासको मत लिने तयारी थाल्न उनले संसद सचिवालयलाई पत्र पठाइसकेका छन् ।

सरकारमा सहभागी कुनै एक दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत जाँच्नुपर्ने संवैधानिक व्यवस्था छ।

प्रचण्डले एमालेले साथ छाडेको नौ दिनभित्र उक्त प्रक्रियामा जान लागेका हुन्।

प्रधानमन्त्री दाहालले सङ्घीय संसद्का महासचिवलाई शुक्रबार एक पत्र पठाएर उक्त दिन विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने भएकाले आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेका छन् ।

“मेरो नेतृत्वमा संवत् २०७९ पुस ११ गते गठित सरकारमा सहभागी दलहरुमध्ये एक दलले आफ्नो समर्थन फिर्ता लिएको हुँदा नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने प्रावधान भए अनुरुप उक्त विषय संवत् २०८१ साल असार २८ गतेको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध छ”, प्रधानमन्त्रीले लेखेको पत्रमा भनिएको छ ।

कांग्रेसले नयाँ बन्ने सत्ता गठबन्धनमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने केन्द्रीय समितिबाट निर्णय गरिसकेको छ।

उनीहरूले सरकार स्पष्ट रूपमा अल्पमतमा रहेकाले राजीनामा दिएर मार्गप्रशस्त गर्न नयाँ समीकरणका दलहरूले आग्रह गरिरहँदा प्रचण्डले विश्वासको मत जाँच्न लागेका हुन्।

सरसर्ती हेर्दा प्रतिनिधिसभामा ७७ सीट रहेको एमालेले समर्थन फिर्ता लिएको र ठूलो दल नेपाली कांग्रेसले पनि एमालेसँगै गठबन्धनको सहमति गरेकाले प्रचण्डले विश्वासको मत पाउने स्थिति छैन ।

अझ उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालको पाँच, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी , सीके राउत नेतृत्वको जनमत पार्टी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टीसमेत नयाँ बन्ने समीकरणको पक्षमा खुलेको अवस्था छ । यसबीचमा दुई स्वतन्त्र सांसद पनि नयाँ समीकरणकै पक्षमा नआलान् भन्न नसकिने अवस्थामा केही उलटफेर नभए प्रचण्डले विश्वासको मत पाउने सम्भावना छैन ।

वर्तमान सत्ता गठबन्धनको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २१ र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) १० सिट रहेका छन् । अहिलेसम्म अनिर्णीत रहेका राष्ट्रिय जनमोर्चाको एक, आम जनता पार्टीको एक सिट र नेपाल मजदुर किसान पार्टीको एक सिट रहेको छ । साथै स्वतन्त्र दुई सांसदले पनि निर्णय गरिसकेका छैनन् । यी सबैले प्रधानमन्त्रीलाई विश्वासको मत दिए भने पनि उनको पक्षमा केवल ६८ मत हुन्छ ।

यता नयाँ समीकरणको पक्षमा १९१ मत छ । संसद्मा नेपाली कांग्रेसको ८८, नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ७९, जनता समाजवादी पार्टी नेपालको पाँच, जनता समाजवादी पार्टीको सात, जनमत पार्टीको चार, लोकतान्त्रिक समाजवादी पार्टी नेपालको चार र नागरिक उन्मुक्ति पार्टीको चार सिट छ ।