शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

माधव नेपालको छटपटाहट : प्रचण्डपछि भेटे देउवालाई

बुधबार, असार १९ २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेका छन् ।

पार्टीको १०औं महाधिवेशनको चटारोकाबीच मंगलबार नेपालले देउवासँग बुढानिलकण्ठमा पुगेर भेटवार्ता गरेका हुन् ।

देउवालाई भेट्न बुढानिलकण्ठमा जानुअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेटेका थिए ।

यतिबेला एमालेलाई नयाँ समीकरणमा रोक्न प्रधानमन्त्री प्रचण्डभन्दा माधव नेपाल सकृय बनेका छन् ।

कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउनेबारे समझदारी बनेसँगै उनी छटपटाहटमा छन् ।

प्रधानमन्त्री दाहाल, माधव नेपाल र देउवा वैकल्पिक गठबन्धनको लागि समेत छलफलमा रहेको चर्चा चलिरहेको बेलामा नेपालले दाहाल र देउवा दुवै नेतासँग छुट्टाछुट्टै भेटवार्ता गरेर एमाले बाहेको पुरानै गठबन्धन गरेर जान कन्भिन्स गराइरहेका छन् ।

देउवासँगको भेटवार्ता सकारात्मक रहेको माधव नेपालले आफूनिकट नेताहरुसँग ब्रिफिङसमेत गरेका छन् ।

एमालेसहितको प्रचण्ड गठबन्धनमा चाहना नहुँदानहुँदै पार्टीभित्रकै दबाबका कारण गठबन्धन स्वीकार गरेका नेपाल गठबन्धनका ठुला दल र पार्टीको बहुमत नेताहरुको पेलाईमा थिए । त्यसबेलै पनि उनी एमालेलाई सरकारबाट बाहिर गराउन उपेन्द्र यादवसहित कांग्रेस नेतृत्वको सरकार निर्माणमा जोडबल गरेका थिए । अन्ततः त्यो बेला उपेन्द्र यादवकै जसपा नेपाल विभाजन हुन पुगेको थियो ।

अहिले फेरि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने गरी कांग्रेसले नयाँ समीकरण गर्न लागेबाट माधव नेपालमा छटपटी सुरु भएको छ ।

यता कांग्रेस र एमालेले प्रचण्ड सरकारलाई हटाएर नयाँ सरकार बनाउने सहमति गरेका छन् ।

कांग्रेस सभापति देउवा र एमाले अध्यक्षओलीबीच सोमबार मध्यरात भएको सातबुँदे सहमतिको लिखित सार्वजनिक भएको छैन । तर दुबै नेताले आ–आफ्नो दलमा गरेको ब्रिफिङ अनुसार आलोपालोमा अब ओली प्रधानमन्त्री हुनेछन्, त्यसपछि देउवा बन्ने छन् ।