काठमाडौं । रोल्पाको माडी गाउँपालिका–४ परेवा छहरास्थित सडकमा घर्तिगाउँबाट तालाबाङतर्फ जाँदै गरेको लु.१ ज ३२५२ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खसेर सोमबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल रेउघामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जिपका चालक समेत ६ जनाको चौरहा अस्पताल बुटवल रूपन्देहीमा उपचारको भइरहेको छ।
प्युठानको मल्लरानी गाउँपालिका–१ अर्बाङस्थित सडकमा लु.५१ प २१०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा चालक प्युठान नगरपालिका–७ पुण्यखोला बस्ने ३४ वर्षीय अनिल केसीको घटनास्थलमै मृत्यु भएको छ।
मोरङको उर्लाबारी नगरपालिका–६ सिसौलीस्थित सडकमा बाग्मती प्रदेश ०३–००१क १०९० नम्बरको टिपरले प्रदेश १–०१–०१४ प ६८३३ नम्बरको स्कुटरलाई सोमबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक उर्लाबारी नगरपालिका–६ बस्ने २७ वर्षीया सिता बोहोराको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको मदन भण्डारी अस्पताल ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको न्यूरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।